बुलिङटार
उज्यालो गण्डकी प्रदेश बनाउने योजना अनुसार आज बुलिङटारमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो। आज संविधान दिवसको दिन पनि आफू जनतामाझ साक्षात्कार गरिरहेको भन्दै आफ्नो मन्त्रालयले उत्कृष्ट कार्य गरेको बताउनुभएको थियो।
अहिले उज्यालो गण्डकी प्रदेश बनाउने यो अभियान अन्त्य तिर आएको र गण्डकी प्रदेशमा ०.५ प्रतिशत अर्थात करिब २ हजार ८०० घरधुरीमा मात्र विधुत पुग्न बाँकी रहेको छ। सम्भवत यही वर्ष नै उज्यालो गण्डकी प्रदेश घोषणा गरिने समेत मन्त्री आचार्यले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री आर्चायले हिजो कसले के गर्यो भन्दा पनि आज कसले के गर्दै छ के गरिरहेको छ भन्ने कुरा बुझ्न जरुरी भएकोले कसैले विद्यार्थी इतिहासको व्याज खाएर जनतालाई झुक्काउन खोज्नेलाई जनताले भेडाको संज्ञा दिने बताउनु भएको छ । उज्यालो गण्डकी प्रदेश बनाउन अब नवलपुरको बौदिकालि र बुलिङटार , तनहुँको देवघाट र बाग्लुङको ढोरपाटन गा.पा.को केही वडा बाहेक अरु सबै ठाउँमा उज्यालो भइसकेको समेत मन्त्री आचार्यले बताउनु भएको छ ।
कार्यक्रमका विशेष अतिथि रहनु भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य रोशन गाहाले जितेर गएका अन्य प्रतिनिधिहरूलाई खोज्ने बेला आएको बताउनुभएको थियो। साथै वहाँले राजनीतिक रुपमा पूर्वाग्रही बनेर कसैले पनि विकासलाई नरोक्न अनुरोध गर्नुभएको छ । कार्यक्रममा बोल्दै पूर्व जनप्रतिनिधिहरूले बिधुतका लागि सिफारिस नदिएका कारण बिजुली बत्ती बाल्न ढिलो भएको बताउनु भएको छ ।
कार्यक्रमका प्रदेश सभा सदस्य रोशन गाहा, उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव ई. डा. सन्तोष कैनी, बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, नेपाल बिधुत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख, नेपाल बिधुत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख अमित कुमार कर्ण, आयोजना व्यवस्थापन निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवलका प्रमुख विनोद पन्थी, उर्जा तथा खानेपानी मन्त्रालयका ई. दामोदर तिवारी , बुलिङटार गाउँपालिकाका कार्यपालिका सदस्य, वडा अध्यक्ष लगायत स्थानीयवासीहरूको वृहत समारोह बिच स्वीज अन गरि मन्त्री आर्चायले विधुत प्रसारण लाईनको समुद्धाटन गर्नु भएको थियो ।