देवचुली ,
देवचुली नगरपालिका खेलकुद विकास समितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सुभाषचन्द्र ओझाको नेतृत्वमा १३ सदस्यीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई आज सपथ ग्रहण गराइएको हो।

देवचुलीका नगर प्रमुख हरि प्रसाद न्यौपानेले एक कार्यक्रमका बीच आज अध्यक्ष ओझालाई सपथ गराए लगत्तै ओझाले उपाध्यक्ष अमर घर्ती मगर ,सदस्य सचिव प्रकाश काफ्ले सँगै अन्य सदस्यहरू बिदारीलाल तामाङ्ग ( रेशम ) , ढुण्डीराज के. सी., अनुपलाल श्रेष्ठ, हर्कबहादुर बोहरा, चिरञ्जीवी पाण्डे ,अन्जु क्षेत्री खत्री, सोनी बस्नेत, मधुकर सुवेदी, नमराज सिँजाली मगर, दुर्गा पौडेल लगायतलाई सपथ गराएका थिए।

तिन बर्से कार्यकालको लागी नगरपालिकाले साउन १३ को कार्यपालिकाको बैठकबाट निर्णय भए बमोजिम नगरपालिकाको खेलकुद विकास ऐन, २०७८ दफा ३ ( २ ) को व्यवस्था अनुसार यो खेलकुद समिति गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नव गठित समितिले नगर भित्र हुने खेलकुदहरु लाई व्यवस्थित गर्दै यस क्षेत्रमा रहेका प्रतिभावान् खेलाडीहरूलाई पहिचान गरि अगाडि बढ्न हौसला र साथ दिनुपर्ने बताएका थिए।

उनले नगर भित्रको खेलकुदको विकासका लागी आफू र नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी , प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले , शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, खेलकुद समितिका संस्थापक अध्यक्ष बलिराम सापकोटा सँगै अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण नगर शिक्षा अधिकृत नन्दलाल ढकालले गरेका थिए।