देवचुली,
महिला कल्याण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर दलदलेको सहारा पार्टी प्यालेसमा तिज गीत प्रतियोगिता समपन्न भएको हो ।
आत्मनिर्भरता र विपदमा महिला सहकारीको भूमिका भन्ने विषयमा रहेर सहभागी महिला दिदिबहिनीहरुले गीत प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा उर्जाशील आमा समूह देवचुली १४ प्रथम भएको छ । यसैगरि पशुपचि कल्याणकारी आमा समूह देवचुली १५ द्धितीय हुन सफल भएको छ । नारी विकास आमा समूह देवचुली ११ तृतीय भएको छ भने लक्ष्मी आमा समूह सान्तवना भएको हो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु ७ हजार, द्धितीय हुने समूहलाई नगद रु ५ हजार , तृतीय हुने समूहलाई नगद रु ३ हजार ५ सय र सान्तवना हुने समूहलाई नगद रु २ हजार ५ सय र प्रमाणपत्र सहित पुरस्कृत गरेको छ । प्रतियोगिता दिउँसो १२बजे देखि सुरुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले महिला दिदिबहिनीहरुको महान चाड तिजलाई भड्किलो नगरि मनाउन अनुरोध गर्नुभएको छ । उहाँले पछिल्लो समय चाडपर्वलाई लिएर मानिसहरुले तडकभडक गर्दा विभिन्न किसिमका घटनाहरु घटिरहेकाले यस्ता उच्छृङ्खल गतिविधि नगरि मनाउन आग्रह गर्दै सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तीजको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारीको विशिष्ट आथ्तियता रहेको थियो । उहाँले कार्यक्रममा बोल्दै महिला दिदीबहिनीहरुको महान चाड तीजलाई अनुशासित ढंगले मनाउन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, देवचुली नगरपालिका भित्र रहेका विभिन्न महिला सहकारी संस्थाका प्रतिनिधिहरु, महिला दिदिबहिनीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा महिला कल्याण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नामाया विश्वकर्माको अध्यक्षता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव फूलमाया वि.कले गर्नुभएको थियो । प्रतियोगितामा देवचुली नगरपालिका भित्र रहेका ६ वटा आमा समूहको उपस्थिती रहेको थियो ।