नवलपुर,
आगामी असोज २८ गतेदेखि सुरु हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट प्रक्रिया धमाधम भइरहेको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरले बिहिबार फुटबल, भलिबल र तेक्वान्दो लगायत खेलको छनौट कार्य सुरु गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन कुमार वि.कको प्रमुख आतिथ्यतामा तीन खेलको छनौट प्रक्रिया सुरु गरिएको छ । कार्यक्रममा बोल्दै वि.कले हाम्रो भन्दा राम्रो खेलाडी छनौट गर्न निर्देशन दिनुभएको थियो ।
नवलपुरको मात्र नभई गण्डकी प्रदेश हुँदै नेपालकै नाम उच्च राख्ने खेलाडीको आवश्यकता परेकाले प्रशिक्षकहरुलाई खेलाडी छनौट गर्दा विशेष ध्यान दिन अनुरोध गर्नुभएको थियो । वि.कले अन्य जिल्लामा भन्दा नवलपुरमा धेरै र सक्षम खेलाडी रहेको समेत जिकिर गर्नुभयो।
जिल्ला भलिबल संघका अध्यक्ष सरोज महतोको अध्यक्षतामा भलिबल छनोट प्रक्रिया कार्यक्रम सुरु गरिएको थियो ।
यसैगरि बिहिबार नै कावासोतीमा रहेको कभर्डहलमा तेक्वान्दो खेलाडीहरु प्रशिक्षण प्रक्रिया सुरु गरिएको हो । उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै पुनले प्रशिक्षकहरुले आफ्ना खेलाडी भनी छनोट नगर्न निर्देशन दिँदै दक्ष र सक्षम खेलाडी छनोट गर्न सके खेलले सार्थकता पाउने बताउनुभएको थियो । यसैगरि कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले धेरै पदक हासिल गर्न खेलाडीको महत्वपूर्ण भूमिका रहने भएकाले खेलाडीलाई अभ्यासमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।
९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीहरु समेत तयारीका लागि दिनरात मेहेनत गरिरहेको बताएका छन् । कार्यक्रममा सम्बन्धित खेलकुद संघका अध्यक्ष तथा पदाधिकारी, खेलाडीहरुको उपस्थिती रहेको थियो ।