चितवन,
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको लापर्वाहीका कारण वंश विस्तारका लागि ल्याइएका अर्ना चितवनमा मासिए । अर्ना मात्रै मासिएनन् विश्वकै दुर्लभ मानिने घडियाल कोहीको प्रजनन् केन्द्र कसरामा नै बाघ पसेर ४ गोही मार्यो । यी दुबै ठाउँका इन्क्लोजरको समयमा नै मर्मत सम्भार नगर्दा बाघ पसेर क्षति गर्यो । यसबाट निकुञ्जका अधिकारीहरुको गम्भीर हेलचेक्राइँ देखिएको त छ नै संरक्षित वन्यजन्तुका लागि गरिएको लाखौंको लगानी खेर पनि गएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना लोप भएको ५७ वर्षपछि संरक्षण र वंश विस्तारका लागि भन्दै कोशी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ गरी जम्मा १५ वटा अर्ना चितवन ल्याएका थिए । ती अर्नाबाट ८ वटा पाडापाडी जन्मिएका थिए । ती २३ वटा अर्नाहरूमध्ये अहिले एउटा पनि बाँकी छैनन् ।
निकुञ्जका अनुसार गएको साउन ३० गते निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा इन्क्लोजर भित्र राखिएका ३ वटा पोथी अर्नालाई बाघले भित्रै पसेर आक्रमण गरेर मारेको निकुञ्जले जनाएको छ। यसअघि पनि बाघले इन्क्लोजर भित्र नै पसेर २ अर्ना मारेको थियो । केही रोगब्याधिले र केही बाढीले बगाएर मरेका थिए । इन्क्लोजरमा रहेका २३ अर्ना मध्ये गत आर्थिक वर्ष (०७८/७९) मा मात्रै १० अर्ना मरेका थिए । साउनमा थप ३ गरेर १३ अर्ना पछिल्लो १४ महिनामा मरेका छन् ।
निकुञ्जले एकैदिन तीन वटा अर्ना बाघले मारेको भनेर विज्ञप्ती जारी गरेको छ । निकुञ्जका एकजना संरक्षण अधिकारी भने बाघले एकैदिनमा तीन अर्ना मार्न नसक्ने बताउँछन् । तर अधिकारी भन्छन्, ‘बाघले एकैदिन तीन अर्ना मार्दैन, एउटा मारेर खान्छ, त्यो खाएपछि मात्रै बल्ल अर्को मार्छ, चितुवाले सबैलाई एकैपटक मार्छ, तर बाघले एकैपटक सबैलाई कहिल्यै मार्दैन, कम्तीमा पनि १५ दिनभन्दा अगाडि नै त्यसले त्यहाँ पहिलो अर्ना मारेको हुनुपर्छ ।’
घडियाल गोही संरक्षणमा पनि लापरवाही
गएको साउन चितवन राष्ट्रिय निकुञ्जको मुख्यालयको आँगनमा नै रहेको घडियाल गोही प्रजनन् केन्द्रमा बाघ पसेर चार घडियाल गोहीलाई मा¥यो । विश्वकै दुर्लभ र संकटापन्न अवस्थामा रहेका प्रजननयोग्य १२ वर्षका माउ घडियाल गोहीलाई बाघले खायो ।
निकुञ्जको दावी अनुसार दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन् केन्द्रमा रहेका गोही खाएको हो । प्रजनन् केन्द्रमा झण्डै डेढ फिटको सिमेन्टको पर्खाल र त्यसमाथि करीब ६ फिट अग्लो जालीले घेरिएको छ । तर, निकुञ्जले समयमा नै ख्याल नगरी जालीको उचित मर्मत सम्भार नगर्दा घडियाल गोही प्रजनन् केन्द्रमा बाघ पसेको थियो ।
घडियाललाई पनि निकुञ्ज प्रशासनले अर्नालाई जस्तै बेवास्ता गरेकाले यो क्षति भएको लामो समयसम्म गोही संरक्षणमा काम गरेका एक संरक्षणकर्मीले बताए । ‘मैले त्यहाँको पछिल्लो अवस्थालाई नजिकबाट हेरेको छु, घडियाल गोही संरक्षणमा कसैको चासो छैन, पुरै वेवास्ता गरिएको छ,’ उनले भने, ‘यो अन्त्यन्तै दुःखद कुरा हो, घडियाल गोही प्रजनन् केन्द्र पनि केही वर्षमात्रै अर्ना राखिएको ठाउँ जस्तै हुन्छ, प्रजनन् केन्द्र बोर्डमा हुन्छ, तर पोखरीमा गोही हुँदैनन् ।’
उनले निकुञ्जका जिम्मेवारी व्यक्तिहरुले ‘बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो’ भनेर दिएको अभिव्यक्ति नै हास्यास्पद र लज्जास्पद भएको बताए ।
घडियाल प्रजनन् केन्द्रमा भाले गोहीको अभाव छ । राप्ती तथा नारायणीको तटीय क्षेत्रमा घडियालले पार्ने अण्डा वैशाख र जेठमा संकलन गरी गोही प्रजनन् केन्द्रमा ओथारोको लागि राखिन्छ । प्रजनन् केन्द्रमा रहेका गोहीले ओथारो बसेर ७५ दिनदेखि अधिकतम् १ सय दिनमा बच्चा कोरल्ने गर्छन् । यो काम अति नै चुनौतीपूर्ण मानिन्छ । तर यो काम गर्न सक्ने पर्याप्त जनशक्ति छैन । अण्डा टिप्नका लागि ३ महिनासम्म डुंगा चढेर नारायणी र राप्ती नदी किनारमा खटिनुपर्छ ।
संकटापन्नको सूचीमा रहेको घडियाल एक सरिसृप जीव हो । माछालाई आहारा बनाउने गोहीको यो प्रजाति नेपाल र भारतमा मात्र पाइन्छ । प्राकृतिक बासस्थानमा चोरीसिकारी र बढ्दो प्रदूषणका कारण संरक्षणमा चुनौती बढेको छ ।
अनलाईनखबरबाट