नेपालका अधिकांश मानिसहरुको जिविको पार्जनको लागि मुख्य पेशा भनेकै कृषि र पशुपालन हो । यसमा पनि विशेष गरी ग्रामिण भुभागमा वस्ने मानिसहरुले परापूर्वकाल देखि नै कुखुरा पाल्दै आईरहेको देखिन्छ । हालको अवस्थामा खास गरी हाम्रो गाउंघरका ८० प्रतिशत भन्दा वढी घर परिवारले लोकल कुखुरा पाल्दै आएको देखिन्छ । नेपालमा भएका सबै कुखुराहरु मध्ये लोकल कुखुराको संख्या करीव ५५ प्रतिशत छ । लोकल कुखुरा विशेष गरी मासु, अण्डाको लागि प्रख्यात छ । नेपालमा ब्यवसायिक कुखुराको तुलनामा लोकल कुखुराको मासुको स्वाद नेपालीहरुले निकै रुचाउंछन । त्यसैले लोकल कुखुराको मासु वजारमा दोब्वर पैसा तिरेर पनि किनबेच भएको पाईन्छ । साथै स्वास्थ्यको हिसावले पनि लोकल कुखुराको मासु र अण्डा ब्यवसायिक कुखुराको भन्दा राम्रो मानिन्छ । लोकल कुखुरापालन आम्दानीको लागि राम्रो श्रोत हो । ब्यवस्थित ढंगले लोकल कुखुरापालन गरेर ग्रामिण स्तरमा राम्रो आम्दानी भै राखेको प्रशस्त उदाहरणहरु छन् ।
जसमध्य हुप्सेकोट गाँउपालिका १ निवासी मनरुपा पाण्डेले १ बर्ष देखी लोकल कुखुरा पाल्दै आएकी छिन् । उनले कुखुरालाई रातिको समयमा मात्रै खोर भित्रै थुन्छिन् र दिनभर कुखुरा बाहिर खुल्ला ठाँउमा रमाउँन दिइनछिन् । पछिल्लो समय कृषकहरु ब्रोइलर कुखुरा पालनतर्फ आकर्षित भइरहेको समयमा पाण्डेले लोकल कुखुरा पाल्न थालेकी हुन् । कुखुरा पालन गर्नु भन्र्दा अगाडी पाण्डेले बाख्रापालन गर्दै आएकी थिइन् । उनले करिब तीन कठ्ठा जग्गामा कुखुरापालन, गाईपालन र तरकारी खेतीसमेत गर्दै आएकी छन् । चारैतिरबाट जालीले बारेर केही जग्गामा खोर, गोठ, तरकारी खेती, र घास रोपेकी छन् । घाँसमा उनले कुखुरालाई चर्नका लागि खुल्ला छाड्ने गरेकी छन् । लोकल कुखुरालाई बनाओटी दानाभन्दा कीरा फटेङ्ग्रा , पात पतिङ्गर, वस्तुको मलमा पाइने कीरा बढी मन पराउने भएकाले खुला ठाँउमा छाडेर पाल्ने गरेको पाण्डेले बताइन् । वस्तुको गोबरमा पाइने किरा लोकल कुखुरालाई मनपर्ने भएकाले उनले दुई वटा गाईसमेत पालेको बताउछिन् ।
अझै भन्ने हो भने ब्यवस्थित गरेर पाँच वटासम्म गाई भैसी पाल्ने योजनासमेत बनाएको पाण्डेले बताउछिन् । अहिले उनीसँग ६०० लोकल कुखुरा र १२० गिरिराज कुखुरा छन् । पहिलो स्थितीमा उनले एक हजार कुखुरा पालेर बिक्री गरिसकेको र अहिले दोस्रो लटको कुखुरा हालेको पाण्डेले बताईन् । लोकल कुखुराबाट राम्रो आम्दानी गर्न सफल भएको थियो भने खोरगोठ बनाउन र चल्ला किन्न ६ लाख रुपैयाँ लगानीबाट सुरु गरेको ब्यसायले सबै खर्च कटाएर ६ महिनामै ३ लाख रुपैयाँ नाफा कमाएको उनले सुनाइन् । बजारका ब्रोइलर कुखुरा भन्दा लोकल कुखुराको भाउसमेत राम्रो भएकाले आफूले यस पेसातर्फ आक्रशीत भएको उनले बताइन् । ब्रोइलरलाई धेरै स्हारसुसार, ‘पटक पटक दानापानी, रातभरि गीत बजाएर छाड्नुपर्ने , जस्ता कार्य लोकल कुखुरालाई यस्तो दुःख गर्नै पदैन । बिहानै खोरको ढोका खोल्दिएपछि सबै आफै बाहिर निस्किएर चर्छन् । राति भएपछि आफै खोरभित्र जान्छन् । एकदुई पाली दानापानी दिए पुग्छ ।
पाण्डेलाई अहिले उनका श्रीमान्ले समेत सहयोग गर्दै आएका छन् । कृषि पेसाबाट नै मनग्य आम्दानी हुने भएपछि विदेश कमाउन गएका श्रीमानलाई समेत उनले अहिले विदेश जान नदिएर कृषि पेसामै लगाएकी छिन् । उनको एउटा छोरा र एउटी छोरी छन् । छोरोलाई किसान नै बनाउने सोचले जेटीए पढाएको र छोरीलाई पनि जेटीए नै पढाउने सोच बनाएको उनले बताइन् । श्रीमानले वर्षौसम्म विदेशमा रगत पसिना बगाएर कमाएको भन्दा घरमै कृषि पेसाबाट आफूले राम्रो आम्दानी गरेकाले श्रीमान्लाई विदेश जान नदिएको उनको भनाइ छ ।
क्रिसला सापकोटाको रिपोर्ट