देवचुली
देवचुली १६ रजहरमा विविध खेलकुदको आयोजना गर्दै शनिबार एक दिने खेलकुद महोत्सव सम्पन्न भएको छ। बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागी कालिका बाल क्लबले कार्यक्रमको आयोजना गरेको हो। क्लबका अध्यक्ष प्रेक्षा भुसालको अध्यक्षता सँगै देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको महोत्सवमा वडा भित्रका १३ वटा बालक्लबको सहभागिता रहेको थियो।

खेलकुद महोत्सवमा भएको इँटा दौडमा १४ नम्बर बाल क्लबका लक्ष्मी खनाल र अलि शेख प्रथम र सिर्जना बाल क्लबका आवा अर्याल र कृतिका भुसाल द्वितीय भएका छन्।

यता स्किपिङमा आभास अर्याल प्रथम , मनिषा गिरि द्वितीय र सबिना मल्ल तृतीय भएका छन् भने चम्चा दौडमा दिपा बिक प्रथम , बेनसिका थापा द्वितीय र पुजा पुन तृतीय भएका हुन्। यस्तै १ सय मिटर दौडमा अनुरंजन बिक प्रथम , घिताङ थारू द्वितीय र स्याम्युल श्रेष्ठ तृतीय हुन सफल भएका छन् भने तातो आलुमा दिपसन भुसाल प्रथम , रिजन खरेल द्वितीय र बिक्रम लम्साल तृतीय भएको क्लबका सचिव शिशिर आचार्यले ह्याप्पी टाइम्सलाई बताएका छन्।

यो सँगै फुटबल ( पेनाल्टी ) मा कुमारवर्ती टोलका आर्नल क्षेत्री र अंकित खत्री प्रथम तथा सिर्जना टोलका गितांश थारु र युवराज महतो द्वितीय भएका छन् भने म्युजिकल चियरमा तिर्सना भण्डारी प्रथम द्वितीय र तृतीय भएका छन्। कार्यक्रममा बिजयी हुने सम्पूर्ण खेलाडीहरूलाई पुरस्कार संगै प्रमाण पत्र प्रदान गरिएको थियो।

महोत्सवमा विशिष्ट अतिथिको रुपमा देवचुली नगर खेलकुद संयोजक सुभास ओझा, नवलपुर बाल सञ्जालकी अध्यक्ष कृशला शर्मा, देवचुली वडा नं १६ का वडाध्यक्ष केशव राज गौतम सँगै वडा बाल सञ्जालकी अध्यक्ष सबिता लामिछाने, देवचुली खेलकुद सङ्घकी वडा सदस्य सोनी बस्नेत लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै क्लबका सचिव आचार्यले महत्वपूर्ण सहयोग गर्ने देवचुली बाल सञ्जाल , रेशम बिक , बरुण बस्ताकोटी , ईश्वर लोहनी , सोनी बस्नेत , नारायण पंगेनी , लाल प्रसाद अधिकारी , गणेश अधिकारी , अर्जुन कँडेल , माधव सुवेदी लगायतलाई धन्यवाद व्यक्त गरेका थिए।

यस्तै नगर प्रमुख संगै कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले नगर भित्रको खेलकुदको विकासका लागि नगरपालिका सदैव तयार रहने बताएका थिए भने अन्य वक्ताहरूले बालबालिकाको लागी पढाई सँगै खेलकुद पनि अति आवश्यक रहेकाले दुवै चिजलाई व्यवस्थापन गरेर अगाडि बढ्न सम्पूर्णलाई आग्रह गरेका थिए।
