देवचुली,
बालबालिकाको चेतना स्तर बढाउन आयोजना गरिने खेललाई निरन्तर अगाडि बढाउन देवचुली नगरपालिकाको तर्फबाट जुनसुकै सहयोग गर्न पनि आँफू प्रतिबद्धता रहेको देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभएको छ ।
शनिबार देवचुली नगरपालिका वडा नं १६ मा भएको एकदिने खेलकुद महोत्सवमा बोल्दै नगरप्रमुख न्यौपानेले खेलकुदको विकासका लागि देवचुली नगरपालिका सदैव तयार रहेको बताउनुभएको हो ।
न्यौपानेले खेलको क्षेत्रबाट बालबालिकालाई अनुशासित र मर्यादित बनाउन मद्धत पुग्ने हुँदा खेलकुदका कार्यक्रमहरुलाई नगरले सहयोग गर्ने बताउनुभएको हो ।
कालिका बाल क्लब देवचुली १६ रजहरले आयोजना गरेको १४ बर्ष मुनिका बालक्लबहरु बिचको खेलहरु निकै उत्कृष्ठ रहेको नगरप्रमुख न्यौपानेले बताउनुभएको थियो । उहाँले भन्नुभयो, बालबालिका भविष्यका कर्णधार हुन त्यसैले बालबालिकाका क्षेत्रमा आँफूले निरन्तर काम गर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका नगर खेलकुद संयोजक सुभास ओझा, नवलपुर जिल्ला बाल सञ्जालका अध्यक्ष कृशला शर्मा लगायतले बोल्दै देवचुली नगरपालिकामा खेलको सम्भावना रहेकाले खेललाई निरन्तर अगाडि बढाउन बालबालिकालाई हौसला र उर्जा दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशवराज गौतम लगायत, स्थानीय बुद्धिजिवि, खेलकुद प्रेमी, बालबालिका लगायतको उपस्थिती रहेको थियो । एक दिने खेलकुद महोत्सव कार्यक्रममा दौड, तेक्वान्दो, फुटबल, स्किपिङ्ग, म्युजिकल चियर
लगायतका खेलहरु खेलाइएको थियो । कार्यक्रममा कालिका बाल क्लबका अध्यक्ष प्रेक्षा भुसालको अध्यक्षता रहेको थियो । देवचुली १६ मा रहेका विभिन्न बाल क्लबहरूको सहभागितामा एक दिने खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न भएको कालिका बाल क्लबका अध्यक्ष प्रेक्षा भुसालले जानकारी दिनुभयो । महोत्सव रजहरमा रहेको शिवालय मन्दिर पछाडिको खुला चउरमा भएको हो । उक्त एक दिने खेलकुद महोत्सवको संयोजन शिशिर आचार्यले गर्नुभएको थियो ।