अहा ! देवचुली नाम त्यसै पावन सुन्दर
चुलीकै स्नेहछायामा जनबस्ती मनोहर
अहिले नगरी राम्रो भयो जनघनत्वले
कृषिकर्म र शिक्षाले यातायात विकासले
टाँगीकोट थियो नाम ऐले रजहरै भयो
पहिले गाउँ हो ठूलो अचेल शहरै भयो
कृषि उद्योग वाणिज्य पन्छी वा पशुपालन
सञ्चार स्वास्थ्यसेवामा छ व्यस्त जनजीवन
यहीँ प्रकृतिको रम्य वाटिका छ व्यवस्थित
सामुदायिक सद्भाव सहकार्य समन्वित
विशाल सालघारीको सान्निध्य शान्त-शीतल
दिन्छ आरोग्यका निम्ति वातावरण निर्मल
यहीँ आरोग्यशालामा देहको शुद्धिका सँगै
मन पावन होस् भन्ने आकाङ्क्षाले प्रदीप्त भै
आउँछन् उपचारार्थ रोगी प्रकृति काखमा
घुलौँ प्रकृतिमा भन्ने चाह बोकेर साथमा
"पथ्य आहार हो हाम्रो स्वास्थ्यका लागि औषधि"
देख्ता आदर्श यो वाक्य मन हुन्छ खुशी अति
ठानिन्छ स्वास्थ्यका निम्ति भोजनै विष,अमृत
खान-पान भए राम्रो हुन्छ स्वास्थ्य सुरक्षित
मनको शान्तिका निम्ति ध्यानका निधि छन् कति
तनको स्वस्थता निम्ति योगका विधि छन् कति
कति व्यायामले दिन्छन् शक्ति-स्फूर्ति शरीरमा
छ माटो राख्नुको ठूलो भूमिका उपचारमा
तातो पानी चिसो पानी बुझी प्रकृति रोगको
दिने सेवक सेवी छन् दिनरात प्रवृत्त जो
पथ्य भोजन पाइन्छ मातृवत् स्नेहसाथमा
सबैले सोध्दछन् सञ्चो भयो भएन गाथमा
चिकित्सक सदा व्यस्त रहन्छन् उपचारमै
मानौँ आयु कतैबाट ल्याई थप्न तयारझैँ
परिपाटी छ क्या राम्रो रोगीमा सान्त्वना दिने
मीठा अमृतवाणीले आधा रोग निको हुने
बोलीवचन क्या मीठो पाइन्छ द्रव्यले कहाँ
द्रव्यभन्दा निकै उच्च व्यवहार मिल्यो यहाँ
गरिन्छ स्वास्थ्यको रक्षा आहार व्यवहारले
यहाँ बस्ता ममा यस्तै भावना मनमा फुले
जिब्रोले भन्छ मीठो खा धेरै खा र अघा भनी
देहले भन्छ थोरै खा स्वास्थ्य राम्रो बना भनी
चलौँ नियममा, सोचौँ सुख केमा छ आखिर
आफ्नै शरीर कुल्चेर नखोजौँ जिन्दगी पर
योग प्रकृति वा ध्यान व्यायाम आदिबाट नै
रोगलाई निको पार्ने प्राचीन विधि आज नै
बोध गर्न यहाँ आई बसौँ हे प्रिय सज्जन !
माझेर सुकिलो पारौँ तनका साथमा मन
चिकित्सा केन्द्र यो चाँडै होस् अस्पताल शिक्षण
यहीँ सन्धानशाला होस् पार्न सार्थक जीवन
यो संस्थाले गरोस् सेवा विना भेद सबैप्रति
पूर्ण स्वस्थ बनी फर्कून् रोगी भै आउने जति
- गोविन्दराज विनोदी