देवचुली,
लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा देवचुली वडा नं १३ को वडा कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेलले धुपीको बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी रहनुभएका पौडेलले लायन्स क्लब अफ देवचुली सप्तरङ्गीले विभिन्न जातका बिरुवा रोप्नका लागि वडा कार्यालय परिसर छनोट गर्नुभएकोमा सम्पूर्ण लायनलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले वडा परिसरमा रोपीएका बिरुवाको वडाले संरक्षण गर्ने बताउँदै आगामी दिनमा लायन्स क्लब अफ देवचुली सप्तरङ्गीसँग सहकार्य गरि थुप्रै कार्यक्रमहरु गर्ने बताउनुभएको थियो ।
जहाँ समस्या हुन्छ त्यहाँ लायन्स पुग्ने गरेको कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा रहनुभएका जोन चेयर पर्सन लायन शरदमणी खरेलले बताउनुभएको थियो । खरेलले लायन्सले समाजमा खेलेको महत्वपूर्ण भूमिकाको विषयमा उल्लेख समेत गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा बिशेष अतिथीका रुपमा रहनुभएका लायन्स क्लब अफ नवलपुर सप्तरङ्गी प्रमुख लायन होमनाथ जैसीले बिरुवा रोप्दै वातावरण हरियो, स्वच्छ र सुन्दरमय बनाउनका लागि वृक्ष रोप्नै पर्ने बताउनुभएको थियो । उहाँले सबैभन्दा धेरै सदस्य रहेको संस्थाका रुपमा लायन्स क्लब पनि चिनिने बताउँदै सबैलाई एकैठाउँमा जाड्ने प्रयास लायन्सले गरिरहेको बताउनुभएको थियो ।
उक्त वृक्षारोपण कार्यक्रममा देवचुली वडा नं १३ का पूर्व वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्री, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य प्रसाद दवाडी, दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने, मध्यनेपाल साकोसका अध्यक्ष मानसिंह खत्री, महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रत्नामाया विश्वकर्मा, लायन्स क्लब अफ मध्यविन्दु सप्तरंगीका अध्यक्ष कमल सुनारी, लायन्स क्लब अफ लेडिज भरतपुर सप्तरङ्गीका अध्यक्ष रेवति आचार्य, लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष खेम सारु मगर, वडासदस्य, सुरक्षाकर्मी, स्थानीय बुद्धिजिवि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका अध्यक्ष टि.एम पौडेलले गर्नुभएको थियो । अध्यक्ष पौडेलले लायन्सले देवचुलीका १७ वटै वडामा फरक किसिमका कार्यक्रम गर्ने र यसमा सम्पूर्णको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो । साथै आज भएको वृक्षारोपण कार्यक्रमलाई सफल पार्न देवचुली वडा नं १३ ले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका लायन रेनुका बस्ताकोटीले स्वागत मन्तव्य राख्नुभएको वृक्षारोपण कार्यक्रमको सहजीकरण लायन सुनिल न्यौपानेले गर्नुभएको थियो । वडा कार्यालय परिसरमा धुपी, कपुर, पारीजात लगायतका थुप्रै बिरुवाहरु रोपिएको थियो ।