नेपाल क्रिकेट संघ (क्यान) ले गत मंगलबार केन्या भ्रमणका लागि टिम घोषणा गर्दा अर्जुन साउद धनगढीमै थिए । सन्दीप लामिछानेको कप्तानीमा घोषित १६ सदस्यीय टोली रहेका एक मात्र नयाँ अनुहार थिए अर्जुन साउद ।
क्रिकेट प्रशिक्षण गरी रहेका बेला उनलाई भाइहरुले फोन गरेर राष्ट्रिय टिममा परेको खबर सुनाए । ‘सुरुमा त पत्यार नि लागेन तर मिडियाबाट पनि फोन आएपछि भने विश्वास भयो ।’
मुम्बईमा जन्मेर उतैबाट क्रिकेट सिकेका १९ वर्षीय अर्जुन सिनियर टोलीबाट पहिलो खेल खेल्ने लक्ष्यसहित केन्या जाँदैछन् । भदौ १९ देखि २० गतेसम्म नेपालले केन्यासाग पाँच टी २० आई र तीन एकदिवसीय खेल खेल्नेछ ।
नेपालले पछिल्ला अन्तर्राष्ट्रिय शृंखला खेल्दा नयाँ नयाँ खेलाडीले डेब्युको अवसर पाइरहेका छन् । केन्या भ्रमणका लागि पनि अर्जुनको रुपमा नयाँ अनुहार राष्ट्रिय टिममा छन् ।
राष्ट्रिय टिममा समावेश भएको थाहा पाएपछि उनी भोलीपल्टै काठमाडौं आइपुगे । उनले प्रशिक्षण समेत गरिरहेका छन् । घरेलु प्रतियोगितामा सिनियर र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै प्रभाव छाड्न सफल अर्जुनले केन्या भ्रमणलाई आफ्नो क्षमताको प्रदर्शन गर्ने प्लेटफर्मका रुपमा हेरेका छन् ।
तर उनले यति छिटै राष्ट्रिय टिममा पर्छ भनेर सोचेका थिएनन् । उनी भन्छन्,‘सिनियर टोलीमा परेको कुरा थाहा पाउँदा निकै खुसी भएँ । आफूले गरेको प्रदर्शन र मेहनतले एकदिन राष्ट्रिय टोलीमा पर्छु भन्ने आश त थियो तर यहि सिरिजमा पर्छु भन्ने सोचेको थिइन् ।’ अर्जुनले अनलाइनखबरसँगको कुराकानीमा भने । ‘कसलाई रहर हुँदैन र राष्ट्रिय टोलीमा आफ्नो जर्सी लगाएर खेल्ने त्यहिका लागि यति मेहनत गरी रहेको थिएँ ।’
भारतमै जन्म र क्रिकेट सिकाइ
सन् २००३ मा भारतको मुम्बइमा जन्मिएका अर्जुनले १० वर्षको उमेरबाट क्रिकेट खेल्न थालेका थिए । उनको परिवार भारतमै छन् । उनले मुम्बईबाट नै क्रिकेट सुरु गरे । जहाँ नाम चलेका विश्वाका खेलाडीहरुले खेल्छन् । उनको घरमा पारिवारिक अवस्था राम्रो थिएन । क्रिकेट किट किन्दिन सक्ने वातावरण पनि थिएन । तर उनलाई मैदानमा अर्काले क्रिकेट खेलेको देख्दा क्रिकेट खेलौखेलौ लाग्थ्यो । अर्काको क्रिकेट किट मागेर क्रिकेट सिक्थे । ‘परिवारको अवस्था राम्रो थिएन । खान पनि समस्या थियो । त्यसत् अवस्थामा क्रिकेट किट मागेर मेरो क्रिकेटलाई अगाडी बढाएँ ।’
त्यसपछि छिमेकी दाइहरुको सहयोगमा अर्जुन दिगम्बर पार्दलेको प्रशिक्षणमा पुगे । ‘सरबाट नै कसरी क्रिजमा बस्नदेखि लामो समयसम्म टिकेर खेललाई कसरी अघि बढाउने भनेर सिकेँ । भारतको प्रशिक्षणको अनुभव नै मैले आजसम्म उपयोग गरी रहेको छु ।’ भारतको प्रशिक्षण र अनुभवले उनलाई राष्ट्रिय टोलीसम्म पुर्यायो ।
अनलाईनखबरबाट