चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् ।यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।
यस्तै, एक वर्षमा ६ वटा बाघ प्राकृतिक कारणले मरेका तिवारीले बताउनुभएको छ । ६ वटै बाघ उपचारको क्रममा मरेको उहाँले जानकारी दिनुभएको छ । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।
एक वर्षको अवधिमा निकुञ्जमा २ सय ४ वन्यजन्तु मरेका छन् । तीमध्ये प्राकृतिक कारणले १ सय ४ मरेका छन् । यस्तै, निकुञ्जले गएको आर्थिक वर्षमा तीन गैँडासहित १९ प्रजातीका २ सय २२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभएको छ । एक किंग कोब्रासहित सात सर्पको पनि उद्धार गरिएको छ । चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एकरएक वटा उद्धार गरिएको उहाँले बताउनुभयो । चार लगुना, तीन निर बिरालो, दुई नीलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको निकुञ्जको तथ्यांकमा रहेको छ ।
निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गएको आर्थिक वर्षमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए । चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैँडा शिकारी रहेको तिवारीले जानकारी दिनुभयो । गैँडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।