लेखक डा. शिवराज न्यौपाने, नवलपरासी पूर्व कावासोती
के लाग्छ तपाइँलाइ – मलाई थाह छैन ।
मलाई के लाग्छ ,त्यो म भन्छु –
“मानसिक स्वास्थ्य भन्दा ठूलो अरु केही छैन”।
खान्दानी रोग भनेर चिनिने सुगरको औसधि सानदार तरिकाले जीन्दगीभर खाईराख्दा मन अलिक भारी भो, निराश भो भने मानसिक रोगको चिकित्सकलाई भेट्न जान यो समाज रुचाउँदैन।
किनकी ,
बर्षौँदेखिको हामीभित्र गढेर बसेको हाम्रो सामाजिक मान्यता भन्छ –
“मानसिक रोग भनेको पागलपन हो, मानसिक रोगी भनेका बौलाह हुन्।”
………
विहान उठेर फेसबुक चलाउन मात्र के लागेको थिएँ,आजभन्दा ३ वर्ष पहिले हार्दिक श्रद्वान्जली भाइ भनेर पोष्ट गरेको कुरा फेसबुकले मेमोरी भन्दै देखाईदियो। फेरि पनि झसङ्गै भएँ, अतालिएको मन र भुट्भुट् गर्ने यो मुटुले मलाई केही लेख्न बाध्य बनायो।
ऊनी थिए भाइ युवक।
साईकल प्रेमी।
एउटा मात्र खुट्टा थियो उनीसँग ।
तरपनी , साईकल अति नै राम्रो हाँक्ने।
अत्यन्तै हँसिलो पात्र।
मीठो भाषा, नरम बोलीले सबैको मन जित्ने खालका ।
म पनि साईकल प्रेमी अनि हरेक हप्ता काठमाडौं उपत्यकाको डाँडाकाँडाहरुमा साईकल चलाउदै जाने क्रममा उनीसँग भेट हुन्थ्यो।
एउटा मात्र खुट्टाको सहाराले साईकलमै काठमाडौँदेखि लुम्विनीको यात्राको क्रममा तात्कालीन मेरो कार्यस्थल पश्चिम नवलपरासी जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा पनि मलाई भेट्नका लागि उनी आइपुगेका थिए।
उनको व्यक्तिगत जीवन त म धेरै कोट्याउन चाहिन तर पनि उनी डेरा गरि काठमाडौंमा बस्दै र पढ्दै आएका थिए ।
एउटा साईकल सेन्टरमा सानोतिनो भएपनि जागिर गर्दै आएका थिए। बाहिरबाट हेर्दा उनीमा केही कमी देखिँदैन थियो।
तर,
जब उनले आफू बस्ने डेरामा घाँटीमा पासो लगाई आत्महत्या गरे, त्यो समाचारले अहिले पनि म भत्किन्छु।
अनि,
मलाई समाजदेखि पनि रिस उठ्न थाल्छ।
हामीले बनाएको समाज!
म बाँचिरहेको समाज !
…….
हाल नेपालकै तथ्याङ्क लाई हेर्ने हो भने दिनकै १९ जना मानिसको आत्महत्याबाट मृत्यु हुने गर्दछ जुन तथ्याङ्क अन्य सर्ने वा नसर्ने रोगबाट हुने मृत्युभन्दा भन्दा अत्यधिक हो।
हामी कुन समाजमा बन्दक भएका छौं त ” लौन फलानो त झुण्डिएर मरेछ, के बुद्धि बिग्रेको होला है” भन्यो अनि सामाजिक सन्जालमा “हार्दिक श्रद्वान्जलि वैकुण्ठमा बास होस्” लेख्यो अनि बसेर ठूला ठूला आँखा बनाउँदै कुरा काट्न थाल्यो “पल्लाघरकी कान्छि बुहारी त टोलाको टोलाई गर्थि, मानसिकको डाक्टरलाई भेटेर अहिले दबाई लिँदै रैछे नि” !
……..
चिकित्सक भएर काम गर्न थालेपछि मैले आजका मितिसम्म झण्डै ५० भन्दा बढि आत्महत्याको मृतकको पोष्टमार्टम गरें।
के त?
के भो त पोष्टमार्टम गरेर?
मृत्युको कारण पत्ता लगाउँथे म अनि सरकारी कागजमा कारण “आत्महत्या” लेखी पठाईदिन्थें।
मृत्युको कारण आत्महत्या हो भने आत्महत्याको कारण के त? त्यो कसले पत्ता लगाईदेला?
त्यस्तै सयौंको संख्यामा बीष सेवन गरेका विरामीको उपचार गरेको छु। उनीहरुलाई मानसिक रोगको चिकित्सकलाई परामर्शका लागि जाने सल्लाह दिँदादिदै पनि कोही गएको देखिँदैन। अब ल भन्नुस् यसको जिम्मेवारी कसले लिने?
…..
मानसिक रोग आफैंमा जटिल छ विभिन्न आयामले!
एक त पहिचान गर्न गार्हो हुन्छ र धेरै पीडित आफैँलाई पनि म मानसिक विरामी छु भन्ने ज्ञान हुँदैन। ज्ञान भएकाहरु पनि गार्हो भईसक्दा सम्म परामर्श लिन समेत जान भ्याउँदैनन् वा भनुँ जाँदैनन्।
समाजले पागल, वौलाह, साईको भन्ला भन्ने डर पनि पीडितमा हावी देखिन्छ। तर समाजले बुझ्नुपर्ने कुरा के हो भने मानसिक रोग र शारीरिक रोगमा केहि फरक छैन। हात भाँचिन्छ, जोडिन्छ हामीले सजिलै लिन्छौं। सुगर बढ्यो वा प्रेसर कन्ट्रोल गर्न आजिवन औषधी सजिलै ग्रहण गर्न सक्छौं, तर मानसिक रोग चिकित्सककोमा जान मात्रै पनि डराउँछौं।
मानसिक रोग पिडित दुईतिरबाट बिचमा च्याँपिएको हुन्छ। एकातिर आफ्नै रोग अनि अर्को तिर समाज।
आखिर किन त!
कहिलेसम्म त!
आउनुस् , अब एउटा विगुल फुकौं
“मानसिक रोग पनि समयमा उचित परामर्श वा औषधीले निको हुन्छ र यो अन्य शारिरीक रोग भन्दा कत्ति पनि फरक छैन” !
…..
प्रिय साथी युवक,
हार्दिक श्रद्वान्जली !