देवचुली,
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२ औँ बार्षिकोत्सव आगामी भदौ ५ गते देखि विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । बिहिबार विजय विकास स्रोत केन्द्रको सभाहलमा पत्रकार सम्मेलन गरि ३२ औँ वार्षिक उत्सव समारोहका कार्यक्रमहरुको बारेमा जानकारी गराईएको हो ।
पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव प्रेम प्रसाद सापकोटा “राजु” ले अध्यक्ष सापकोटाको प्रेस विज्ञप्ति वाचन गरेर सुनाउनुभएको थियो । प्रेस विज्ञप्तिमा विकू बचत तथा ऋण सहकारी संस्थाको परिकल्पना, उद्धेश्य, मूल्य मान्यताहरु, लक्ष्य, आबद्धता, संस्थाद्धारा सञ्चालन गरिएका वित्तीय कार्यक्रम, प्रवद्र्धनात्मक क्रियाकलापहरु, सामाजिक आर्थिक क्रियाकलापहरु र भावी योजनाका विषयमा सापकोटाले जानकारी गराउनुभएको थियो ।
यसैगरि कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले विकूको केन्द्रिय कार्यालय परिसरमा रहेको विकू विपद् व्यवस्थापन गृहको उद्घाटन गर्नुभएको थियो । सापकोटाले ३२ औँ वार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न कार्यक्रम गरि मनाउने बताउँदै उहाँले सामाजिक विकासको क्षेत्रमा अब्बल र ख्यातीप्राप्त संस्था रहेको विजय विकास स्रोत केन्द्रले विगत ३१ बर्ष देखि अविछिन्न सेवा दिदै आएको र भावी दिनमा संस्थाले खुसी एवं स्वस्थ सदस्य, सदस्यको आर्थिक सक्षमता, जगेडा कोषमा आधारित संस्था, उत्पादन र बजारीकरण, युवा सहभागिता, सक्षम व्यवस्थापन र सवल सदस्य, अत्याधुनिक एवं उच्च प्रविधिको प्रयोग, अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने जस्ता विभिन्न योजना रहेको बताउनुभएको थियो ।
विकू बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष यमनाथ आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत माधव पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, कोषाध्यक्ष कालिदास गौडेल, सह–सचिव माया कंडेल, सदस्य पुष्पराज बराल, निर्मला रेग्मी लगायत संचारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
विकूले नवलपुरको गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयीत्रिवेणी गाउँपालिकामा गरि १९ वटा र चितवनमा ४ वटा गरि जम्मा २३ वटा विभिन्न शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ । विकूले सदस्यको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गर्भदेखि स्वर्गसम्मका कार्यक्रम संचालन गर्ने जनाएको छ ।
वि.सं २०४८ साल भाद्र ५ गतेका दिन विजय विकास स्रोत केन्द्र तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्यहरु मिलेर संस्थाको स्थापना गरिएको हो । संस्था साविकको सहकारी ऐन २०४८ अन्तर्गत २०५० साल ज्येष्ठ ५ गते जिल्ला सहकारी कार्यालय नवलपरासीमा सबैभन्दा पहिला दर्ता भई सञ्चालनमा आइ २०५४ सालबाट कारोबार सञ्चालनमा आएको थियो । हाल संस्था सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ अन्तर्गत सञ्चालन भइरहको छ । हाल सम्म संस्थामा करिब १ लाख १० हजार भन्दा बढि सेयर सदस्य र करिब ९० करोड ९४ लाख शेयर पुँजी, ७८ करोड ६६ लाख जगेडा तथा कोषहरु, ७ अर्ब २ करोड ४७ लाख बचत संकलन, ७ अर्ब २० करोड ६१ लाख ऋण लगानी र ९ अर्ब ३ करोड ३४ लाख कुल सम्पति रहेको छ ।
वार्षिकोत्सवका कार्यक्रमहरु
१. चम्चा दौड
२. मोटरसाइकल स्लो रेस
३. फुटबल प्रतियोगिता
४. नृत्य प्रतियोगिता
५. हाजिरीजवाफ प्रतियोगिता
६. ट्राफिक सचेतना
७. वृद्धवृद्धा/बिरामीलाई खाना/फलफूल वितरण
८. प्रभातफेरि (मोटरसाइकल र्याली)
९. रक्तदान कार्यक्रम
१०. म्युजिकल चियर
११. बर्णमाला विमोचन, पुरस्कार प्रदान
१२. दिप प्रज्वलन