कावासोती
वर्तमान शैक्षिक सवालमा जिल्लास्तर अन्तरक्रिया कार्यक्रम आज कावासोतीमा सम्पन्न भएको छ। नेपाल अभिभावक महासंघ नवलपुरको आयोजना सँगै शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
महासङ्घका अध्यक्ष श्याम शर्मा भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष बाबुराम बिकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपालको पछिल्लो समयको शैक्षिक गतिविधि , अध्ययन सँगै रोजगारको लागि विदेशिने युवाहरूको जमातलाई रोक्न सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी रहेको महासङ्घका अध्यक्ष भुसालले बताएका छन्।
भुसालले शिक्षा नीति भित्रको आचार संहिताको कार्यन्वयन सम्बन्धमा , विभिन्न बहानामा विद्यालयमा लिइने शुल्कको सम्बन्ध र एसईई नतिजाको समीक्षा सँगै यस पछिको गन्तव्य लगायतको विषयमा आफ्नो भनाई राखेका थिए।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल , कावासोती तथा बौदिकालीका शिक्षा अधिकृत , एन प्याब्सनका अध्यक्ष रमेश अधिकारी , प्याब्सनका केन्द्रिय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपाने , पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली , बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरूको साथमा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरूले देशको विकास गर्न शिक्षाको क्षेत्रमा विकास हुन अति आवश्यक रहेकोले सबै सरोकारवाला निकायहरू हातेमालो गर्दै अगाडि बढ्न आवश्यक रहेको बताएका थिए। कार्यक्रममा अभिभावक महासङ्घका सदस्य कासी काफ्लेको स्वागत मन्तव्य रहेको थियो भने महासङ्घका सचिवालय सदस्य पतिराम थनेतले सहजीकरण गरेका थिए।