पोखरा
पोखरा थिएटरमा २ वटा नाटक मञ्चन हुने भएको छ। कक्षा ९ र १० को अनिवार्य नेपाली विषयमा रहेको देवकुमारी थापा द्वारा लिखित ‘भविष्य निर्माण’ र गोविन्द बहादुर मल्ल गोठालेद्वारा लिखित ‘लक्ष्मी पूजा’ कथा पोखरामा नाटकीय मञ्चन हुने भएको छ । यी दुई वटा कथालाई आधार बनाएर अञ्जु दाहालले परिकल्पना तथा निर्देशन गर्ने नाटकको नाम ‘दुई कथा’ राखिएको छ ।
सोहि कक्षामा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर मञ्चन गरिने नाटक साउनको दोस्रो साताबाट मञ्चन गर्ने तय भएको थिएटरले जनाएको छ । बाल मनोविज्ञानमा आधारित यी दुई कथालाई पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताएका छन्।
थिएटरका अनुसार नाटकमा सोनिया कार्की खत्री, सुशिल बराल, दिप्सना विश्वकर्मा, कमल तामाङ, गोपाल भुषाल, रञ्जु दाहाल, अनुशा परियार, उत्सर्ग सुवेदी, लवसन खत्री, निकेश पराजुली लगायतका कलाकारको जिवन्त अभिनय हेर्न पाइनेछ । यस नाटकका निर्देशक दाहालले सिरुमारानी, अटलबहादुरको आतंक, निरमाया, एक चिहान, शिरिषको फूल लगायतका नाटकमा अभिनय गरि सकेकी छिन् भने उनले निर्देशन गरेको पहिलो नाटक सरुभक्तद्वारा लेखिएको आधा मरेका सन्तानहरु रहेको थियो ।
अहिले उक्त नाटक मञ्चनको तयारीलाई तिव्रता दिइरहेको थिएटरले जनाएको छ जसको लागी कलाकारले दैनिक रिर्हसल गरिरहेका छन् । साथै प्राविधिक तथा अन्य तयारी समेत भइरहेको छ ।