कोइराला परिवार फुटाएर दोश्रो पटक कांग्रेसको सभापति पद सुरक्षित गरेका शेरबहादुर देउवाको विरोध गर्ने हिम्मत कसैमा देखिएको छैन।नेपाली कांग्रेसको महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि तितरबितर भएको संस्थापन इतर समूह एक ठाउँमा उभिन सकेको छैन। कतिपय नेताहरु कांग्रेसको १४ औं महाधिवेशनमा नै शक्ति राष्ट्रहरुको चलखेल भएको स्वीकार्छन्।
बाहिर कोइराला टिम र देउवा टिम देखिएपनि जित्ने बेलामा दुवै तर्फका अमेरिकी लबीका नेताहरुले जितेको विश्लेषण कांग्रेस वृतमा हुन थालेको छ। कांग्रेस भित्रको आन्तरिक राजनीतिका जानकार एक पुराना नेताका अनुसार कोइराला परिवार एक जुट नभएसम्म कांग्रेस आफ्नो ठाउँमा फर्किदैन। तर कोइराला परिवारको ‘इगो टस्सल’ले फेरी पनि कांग्रेस हारेर विदेशी शक्ति हाबी हुने उनले बताए। ती पुराना नेताले भने, ‘कोइरालाहरुको जोडिने सुत्र के? केही छैन।
अहिले देखि नै अर्को अधिवेशनमा शेखरले रोक्छ भनेर शशांकको दिमागमा तुस भर्ने, शेखरलाई तलाई रोक्ने त शशांक नै हो भन्ने गरि उनीहरुलाई ब्रिफिङ भइरहेको सुनिन्छ। पत्रिकाहरुले त्यस्तै किसिमको न्यूज फ्याकिरहेका छन्। षड्यन्त्र भइरहेको यी तीन जनाले बुझ्दैनन्। यस्तो बुझ्ने प्रकाशले हो, उहाँ राजनीतिमा हुनुहुन्न। त्यसैले कोइराला परिवारको विरासतको अन्त्य भइसक्यो भन्दा पनि हुन्छ।’
अघिल्लो महाधिवेशन हुनु लामो समय अघि देखि विदेशी शक्ति खेलिरहेको कुरा कोइराला परिवारले नबुझेको उनले बताए। उनले भने, ‘यो महाधिवेशन अघि लगभग दुई वर्ष अघि जस्तो लाग्छ। नेपाल भन्ने साप्ताहिकमा शशांकलाई नेपथ्यमा राखेर शेखरलाई हाइलाइट गरेर न्यूज आयो। त्यसपछि लगातार महामन्त्री निरिह भयो भनेर समाचार आए। आखिर यी अहिलेका युवा महामन्त्रीले त के गरेका छन् र? एक हिसाबले दाजू भाइको ‘क्लियर कम्युनिकेसन’ भएको भए शशांक पनि हुन सक्थे, शेखर पनि। तर त्यो हुन दिइएन। एउटालाई गिराउने अर्कोलाई उचाल्ने रिपोर्टहरु आए। शेखरलाई के पर्यो भने भाइले महामन्त्री चलाउन सकेन। शशांकलाई के पर्यो भने मिडिया उचालेर दाइले षड्यन्त्र गर्यो। तर भएको केही होइन, अन्तराष्ट्रिय शक्ति खेलेको हो। यो बुझेनन्।’
उनका अनुसार अर्को महाधिवेशनबाट कोइरालाहरु भन्दा पनि अर्को कुनै पात्र तयार गर्ने रणनीतिमा अमेरिका देखिएको बताए। उनले शशांक र शेखर दुवैलाई सभापतिको आश्वासन दिएर अन्तिममा अर्कै पात्र खडा गरेर सभापति जिताइने उनले बताए। उनले भने, ‘अहिले देउवाले तपाई बीपी पुत्र। म बीपीको अनुयायी। तपाई नै हो सभापति भनेको छ। उनि मक्ख छन्। यता शेखरलाई तपाइलाई हामी युवाको साथ छ, अर्को पटक सभापति तपाई नै हो भनेका छन्। दुवैजनाले फरकफरक समूहबाट एउटै कम्पनीको ललिपप खाइरहेका छन्। शेखरको महामन्त्री त प्रधानमन्त्री मै हुँ भन्दै हिडिसक्यो। यस्तो महत्वाकांक्षा छ। अमेरिकन हो भन्छन्। अब कोइराला फ्यामिली इन्डिया-रसियाको नजिक हो। अन्तराष्ट्रिय समुदायले त्यसरी हेर्छ। अनि कोइराला परिवारलाई नेतृत्वमा ल्याउँछ कसैले?’