देवचुली,
देवचुली नगरपालिका भित्र रहेका ३५ वटा निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । नेपाल सरकारले तोकेको निति, निर्देशनलाई नगरका स्वास्थ्य संस्थाहरुले पालना गरे नगरेको विषयमा अनुगमन गरिएको हो । बिहिबार देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत शिवराज कोइराला, दुम्कौली अस्पतालका डा.भरत यादव, देवचुली नगरपालिकाका सिनियर अ.हे.व अधिकृत वेद बहादुर दाहाल, आधारभूत स्वास्थ्य सेवा केन्द्रका अ.हे.व दिपेन्द्र लाल महतो, ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख भीमसेन घिमिरे लगायतको टोलीले देवचुलीका अधिकांस निजी मेडिकलहरुको अनुगमन गरेका छन् ।
डेण्टल, आयुर्वेद, चस्मा, पोलिक्लिनिक, फार्मेसी लगायतको अनुगमन गरिएको थियो । संचालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुका केही ठाउँमा मुल्य सुची नभएको, सूचना पार्टी नभएको, अ.हे.वले काम चलाइरहेको पाइएको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत शिवराज कोइरालाले जानकारी दिनुभयो । केही निजी संस्थाहरुमा सटर बन्द भएकाले फर्किनु परेको उहाँले बताउनुभयो ।
देवचुली नगरपालिका भित्रका ३५ वटा निजी स्वास्थ्य संस्थामा पुगेर निरिक्षण गरेर दर्ता नभएकालाई दर्ता प्रक्रिया गर्न र दर्ता भएकाहरुलाई समयमा नै नवीकरण गर्न आग्रह गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले बताउनुभयो । उहाँले बिशेषगरि नगरभित्र रहेका स्वास्थ्य संस्थाहरु कानुनी रुपमा संचालन भएका र नभएकालाई व्यवस्थित तरिकाले गर्न निर्देशन गरिएको बताउनुभएको छ । नगरबासीले जुनसुकै अवस्थामा पनि स्वास्थ्य सहज ढंगले सेवा लिन पाउनुपर्ने मुख्य उद्धेश्य रहेकाले अनुगमनलाई तिव्रता दिएको श्रेष्ठले बताउनुभयो ।
देवचुली नगरपालिका भित्र ४५ भन्दा बढि निजी स्वास्थ्य संस्थाहरु रहेका छन् । बाँकी स्वास्थ्य संस्थाहरुमा पनि केही दिनमा अनुगमन गरिने देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।