देवचुली,
नवलपुरको देवचुली नगरपालिकाको दशौँ नगर सभा शुक्रबार देवचुली नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । देवचुली नगरपालिकाको दशौँ नगरसभाबाट ‘वातावरण विधेयक एने २०७९’ पारित गरिएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा नगर सभामा सम्पन्न भएको हो । दशौँ नगरसभामा नगर प्रमुख हरि प्रसाद न्यौपानेले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
न्यौपानेले आर्थिक विकास र रोजगारी अन्तर्गत कृषि सम्बन्धी नीति, पशु सेवा सम्बन्धी नीति, रोजगार तथा उद्यम नीति, सहकारी सम्बन्धी नीति, पर्यटन सम्बन्धी नीति, राजस्व सम्बन्धी नीति, सुकुम्बासी सम्बन्धी नीति, सामाजिक विकास अन्तर्गत शिक्षा तथा युवा खेलकुद सम्बन्धी नीति, स्वास्थ्य सम्बन्धी नीति, आयुर्वेद सम्बन्धी नीति, महिला, बालबापलिका, जेष्ठ नागरिक तथा अपाङ्ग सम्बन्धी नीति, सुशासन र सेवा प्रवाह सम्बन्धी नीति, पूर्वाधार सम्बन्धी नीति, विपद् व्यवस्थापन तथा महामारी अन्तर्गत विपद् व्यवस्तापन, महामारी रोकथाम लगायतका ५ बुँदे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि दशौँ नगर सभामा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले आर्थिक बर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । तिवारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ७४ करोड १३ लाख ४८ हजारको वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । जसमध्ये आयतर्फ सङ्घीय सरकारको सर्शत अनुदान ३१ करोड २४ लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५ करोड ३१ लख, समपुरक अनुदान १ करोड ७० लाख, विशेष अनुदान १ करोड ५० लाख र राजस्व बाँडफाँड ११ करोड ०३ लाख ७२ हजार समावेश गरिएको छ ।
यसैगरि गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८२ लाख ९४ हजार र राजस्व बाँडफाँड बापत १ करोड २० लाख ७३ हजार, विशेष अनुदान तर्फ ५० लाख र समपुरक अनुदानतर्फ ५० लाख रहेको छ । देवचुली नगरपालिकाको आन्तरिक आय ३ करोड, मालपोत रजिष्ट्रेशन शुल्क २ करोड ८६ लाख र चालु आर्थिक वर्ष को नगद मौज्दात बैंकबाट ३ करोड
४५ लाख ९ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसमा आय तर्फ चालु खर्च ४० करोड ६४ लाख ९६ हजार (५४.८३ प्रतिशत) र पुजीगत खर्च ३३ करोड ४८ लाख ५२ हजार (४५.१७ प्रतिशत) विनियोजन गर्नुभएको छ ।
नगरसभामा विद्यायन समितिका संयोजक एकदेव पौडेलले उक्त ‘वातावरण विधेयक एने २०७९’ विधेयक पढेर पेस गर्नुभएको थियो । विद्यायक माथि देवचुली नगरपालिकाका नगर सभाका अध्यक्ष हरि न्यौपानेले सो ऐन पारित गर्नुभएको थियो । नगर सभामा देवचुली नगरपालिकाका नगर सभासदहरुबाट आएका सुझाव र गुनासोलाई देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी र प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडासचिव तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।