देवचुली,
आभानी मिडिया प्रा.लि ह्याप्पी एफ.एमको आयोजना र देवचुली वडा नं ८ को सहकार्यमा किशोरी सशक्तिकरण तथा उत्थान कार्यक्रम सम्पन्न भएको छ । आइतबार देवचुली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा वडा भित्र रहेका किशोरीहरुलाई तालिम संचालन गरिएको थियो ।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले पछिल्लो समय किशोरीहरुको अवस्था, बाल अधिकार, बालबालिकाको सहभागिता, बाल विवाह लगायतको विषयमा तालिम संचालन गर्नुभएको थियो । ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलको अध्यक्षता रहेको कार्यक्रममा देवचुली नगरपालिका वडा नं ८ का वडाध्यक्ष नुन प्रसाद बाचेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष बाचेले किशोरीहरुका लागि यस किसिमको तालिम अवसर रहेकाले सिकेर आफ्नो जिवनमा लागु गर्न र अन्य वडाभित्रका किशोरी साथीहरुलाई सिकाउन समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कृष्णबहादुर क्षेत्री, कार्यालय सचिव अञ्जु बाचे मगर, वडा सदस्य खेममाया बारघरे, हरिकला बराल, निवर्तमान वडासदस्य चन्द्रामाया बाचे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वडाभित्रका ३१ जना किशोरीहरुको सहभागिता रहेको थियो ।
तालिम प्रश्चात किशोरीहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमको अध्यक्षता रहनुभएका आदर्श सुशिलले ह्याप्पी एफ.एमले बालबालिकाका क्षेत्रमा यस्ता थुप्रै तालिम विभिन्न वडाहरुमा संचालन गरिसकेको र आगामी दिनमा पनि वडासँग सहकार्य गरि तालिम संचालन गर्ने बताउनुभएको थियो ।
वडा सदस्य खेममाया बारघरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा ह्याप्पी एफ.एमका प्रोग्राम कोओडिनेटर कृष्णमाया थापाले सहजीकरण गर्नुभएको थियो ।