नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले सो सुझाव दिएका हुन् ।
‘दफा २२७ को पछाडि जुन थप्ने भनिएको छ, सार्वजनिक पद धारण गरेकोले यदि पीडितहरुले धम्काउने, प्रलोभनमा पार्ने कुरा गर्दा ६ महिना बढी कैद भनिएको छ, यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्छ,’ उनले भने ।
गएको स्थानीय सरकारमा निर्वाचित भएका कतिपय जनप्रतिनिधिहरु र त्योभन्दा अरु जनप्रतिनिधिहरू पनि यस्तो काममा संलग्न भएको देखेको बताउँदै थापाले कैद सजायको अवधि बढाउनुपर्ने सुझाव दिएका हुन् ।
विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिले यौन हिंसा गरेको भए थप ६ महिना कैद सजाय हुने उल्लेख छ ।
बलात्कृत भएको पीडितलाई गर्भपतन गराउने समयको सन्दर्भमा र उमेरको आधारमा जुन सजाय तोकिएको छ, उमेर मात्र होइन, अवस्था र प्रकृतिको आधारमा थप्नुपर्ने उनले सुझाव दिए ।
यसैगरी चाँद तारा कुमारीले पीडितले उजुरी दिने हदम्याद हटाउनुपर्ने धारणा राखिन् । उनले पुरुषले छुँदैमा हिंसा मान्नुभन्दा उसको नियत के थियो भनेर पनि हेर्नुपर्ने बताइन् ।
अनलाईनखबरबाट