विद्यार्थीका लागि आफ्नो घर पछि दोस्रो सुरक्षित स्थान हो विद्यालय । तर शिक्षकले नै आफ्नो यौन प्यास मेटाउन विद्यार्थीलाई प्रस्ताव गर्छ भने त्यो विद्यार्थीको मनस्थिति कस्तो होला ? यो साता काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षकले आफ्नो यौन इच्छा पुरा गरिदिए कलेजको शुल्क छुट गराइदिने भन्दै विद्यार्थीलाई दुर्व्यवहार गरेको घटना बाहिरियो । यसले विद्यालय पनि सुरक्षित नभएको भन्दै अभिभावक तर्सिएका छन् । आफूलाई दुर्व्यवहार हुने विद्यालयमा विद्यार्थीले कसरी सिकाइ गर्न सक्ला र त्यस्ता शिक्षकबाट के सिक्ला ? आम नागरिकको सवाल बनेको छ । यौन प्रहरीले यौन दुर्व्यवहारको आरोपमा संलग्न भनिएका कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेललाई गिरफ्तार गरेको छ । सेन्ट लरेन्स कलेजले दुवै जनालाई बर्खास्त गरिसकेको जनाएको छ ।
उता ५ वर्ष अघि विद्यालयको होस्टलमा बस्ने १५ वर्षीय छात्रालाई बलात्कार गरी फरार रहेका सिन्धुलीका ३६ वर्षीय शिक्षक राज खड्का जेठ १२ गते पक्राउ परेका छन् । उनले प्रिन्सिपल रहँदा आफ्नै स्कुलमा अध्ययन गर्ने नाबालिकालाई रेष्टिकेट गरिदिने धम्की दिँदै निरन्तर बलात्कार गरेका थिए । मोरङमा सामाजिक र नैतिक शिक्षा पढाउने शिक्षक मनोज पौडेलले १३ वर्षीया छात्रालाई उनैको घरमा पानी खाने निहुँमा गएर २०७८ चैत ४ गते यौन दुर्व्यवहार गरे । ती शिक्षक उपर पहिले पनि यौन दुर्व्यवहार गरेको उजुरी परेको थियो । तर कारबाही भएन । स्कुल र प्रहरीले घटना लुकाउन खोजेपछि भएको झडपमा एक जना प्रहरी जवानको ज्यान समेत गयो । त्यसै गरी, गत असोजमा पनि विराटनगरमा गौरव साह नामक शिक्षकले ट्युसन पढाउने क्रममा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै, दुइ वर्ष वर्षअघि बालिकालाई ८ दिनसम्म होटलमा बन्धक बनाई करणी गरेको अभियोगमा पोखराबाट शिक्षक राजेश कनौडिया शिक्षक पक्राउ परे ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । प्रहरी प्रधान कार्यालयको गत पाँच वर्षको तथ्याङ्कअनुसार आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा २०७४ देखि २०७९ सम्म ८२ जना शिक्षक पक्राउ परेका छन् । आर्थिक वर्ष २०७४/७५ मा ५ जना, ०७५/७६ मा ११ जना, ०७६/७७ मा ४५ जना, ०७७/७८ मा १५ जना र ०७८/७९ को जेठ दोस्रो सातासम्म ६ जना शिक्षक पक्राउ परेका छन् ।
शिक्षकले गुरु आचरणसमेत सिक्नुपर्यो : शिक्षाविद् शर्मा
अब शिक्षकले विषयवस्तु मात्र नभएर गुरु आचरणसमेत सिक्नुपर्ने समय आएको शिक्षाविद् सुरेश राज शर्मा बताउँछन् । चरित्र निर्माण भन्ने कुरा शिक्षकको प्रमुख दायित्व हो । शिक्षकले यौन दुर्व्यवहार गर्नु जति लज्जाजनक कुरा अरू केही छैन । जो विद्यार्थीको मार्गदर्शक हो उ नै भक्षक बन्नु जति ठुलो अपराध अरू के होला र ? उनले प्रतिप्रश्न गरे ।
शिक्षाविद् शर्माका अनुसार पहिले शैक्षिक संस्थामा यौनजन्य हिंसाको कुरा सुनिँदैनथ्यो । शिक्षक र विद्यार्थीबीचमा सौहार्दपूर्ण व्यवहार हुन्थ्यो । तर पछिल्लो समय यस्ता घटना सुनिन थालेको छ । र, यो अत्यन्त गम्भीर विषय हो ।
विद्यालयमा आन्तरिक मूल्याङ्कन हुन्छ, त्यसमा फेल गर्दिने हो कि भन्ने डरले पनि शिक्षकले गरेको दुर्व्यवहार विरुद्ध विद्यार्थी बोली हाल्न सक्दैनन् । जसको गलत फाइदा आजका केही आपराधिक मानसिकता बोकेका शिक्षकहरूले लिएको उनको टिप्पणी छ । यो भनेको गुरुले अधिकारको दुरुपयोग गरेको हो । यस्ता कुरालाई निरुत्साहित गर्न कडाभन्दा कडा दण्डको व्यवस्था गर्नु नै एक मात्र विकल्प रहेको शर्माको भनाइ छ ।
नैतिक पतन शिक्षकलाई सेवाबाट सदाका लागि हटाउनुपर्छ । त्यस्ता शिक्षकको पक्षमा वकालत गर्ने प्रधानाध्यापकलाई समेत दण्डित गर्ने कानुन आउनुपर्छ । दण्डित गर्ने कडा नियम बनाउन सकिएन भने यस्ता घटना दोहोरिने शिक्षाविद् शर्माको जिकिर छ ।
समाजले गर्नुपर्ने जिम्मेवारी भनेको सुरुकै समयमा नै पीडितले भन्न सक्ने वातावरण सिर्जना गर्नु । अभिभावक रिजल्ट लिन मात्रै जाने चलन छ । तर अभिभावक र शिक्षकबीचमा वैचारिक बहस हुन आवश्यक छ । समयमा रिपोर्ट गर्ने परिपाटी छैन , घटना घटिसकेपछि आक्रोश हुन्छौ । घटना हुनै नदिने तयारीको लागि जुट्नुपर्ने शर्माको भनाइ छ ।
पोर्नोग्राफीले यौन दुर्व्यवहारका घटना बढेको छ: मनोविद् पौडेल
मनोविद् सनम पौडेलका अनुसार पोनोग्राफीको लत बढेसँगै यौन दुर्व्यवहार घटना बढेको छ । संसद् बैठक चलिरहेका बेला सांसद्ले पोर्नोग्राफी हेरिरहेको समाचार आउँछ । उनी भन्छिन्, ‘अहिले धेरै मान्छेका मोबाइल र ल्यापटपमा पोर्नोग्राफी छ । जहाँ बसेर पनि मोबाइलमा त्यो हेरेपछि अगाडि जो पर्छ, त्यो सिकार बन्छ । शिक्षित भनिएका मान्छेहरूमा पनि पोर्नोग्राफीको लत हुन्छ ।’ धेरैले हेरेर रमाइलो मात्र गर्छन् तर मानसिक डिसअर्डर भएकाहरू अस्थिर हुन्छन् र दुर्घटना हुन जान्छ ।
८/९ घण्टा विद्यार्थीहरू स्कुल, कलेजमा हुन्छन् । विद्याको मन्दिर नै यति असुरक्षित हुन्छ भने अब सुरक्षा कहाँ छ त ? मनोविद् पौडेल प्रश्न गर्छिन् । शिक्षकलाई तुरुन्तै शङ्का गर्ने वा आरोप लगाउन सकिँदैन । त्यसको फाइदा केही अपराधी मानसिकता भएका शिक्षकले उठाएको उनको ठहर छ । आपराधिक मानसिकता कस्तो घरपरिवार र समाजमा हुर्कियो वा उसको बाल्यकाल कस्तो रह्यो भन्ने कुराले मार्ग निर्देशन गर्ने पौडेलको भनाइ छ । यो व्यक्तित्वको कुरा हो र हुर्काईले महत्त्वपूर्ण भूमिका खेल्छ । बच्चाले जे गरे पनि वास्ता नगर्ने, लागूपदार्थ दुर्व्यसनमा लागेर बच्चाको उचित हेरचाह नगर्ने हुँदा पनि बिस्तारै आपराधिक मानसिकता बढ्दै जान्छ । अर्को, सानो उमेरमा कोही यौन हिंसामा परेको छ भने पनि पछि ठुलो भएपछि उसैले अरूलाई यौन हिंसा गरेको घटना सार्वजनिक भएको उनले बताइन् । कसैलाई यौनको विषयमा बोल्दा र पीडितलाई असहज भएको हेरेर रमाइलो लाग्ने हुन्छ । यसले पनि अपराध बढाउँछ ।
यौन हिंसा भयो भनेर भन्न सक्ने वातावरण तयार गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो । यौन हिंसा न्यूनीकरणको लागि दीर्घकालीन योजना भनेको पाठ्यक्रममा नै यस बारेमा पढाइनु जरुरी छ । कस्तो हेराइ, बोलाइ र छुवाइ हिंसा अन्तर्गत पर्छ भनेर स्कुलदेखि नै पढाउन अनिवार्य गर्नुपर्ने पौडेलको सुझाव छ ।
पौडेल भन्छिन्, ‘छात्र, छात्रा दुवैलाई यौन हिंसा के हो भनेर समयमै सचेत गराउनु पर्छ । अभिभावकहरूले यस्तो विषयमा छोराछोरीसँग छलफल गर्नुपर्छ । यदि हिंसा भयो भने सबैभन्दा पहिले आमाबाबुलाई भन्न सक्ने वातावरण हामीले घरमै बनाउनुपर्छ ।’ यौन हिंसामा पर्नु तिम्रो गल्ती होइन भनेर सबैभन्दा पहिले परिवारले साथ दिनुपर्ने उनको भनाइ छ ।
कस्तो छ सजायको व्यवस्था ?
– फौजदारी अपराध संहिता २०७४ अनुसार १० वर्षभन्दा कम उमेरका बालिकालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा १६ वर्षदेखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
– १० देखि १४ वर्षसम्मका बालिकालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा १४ देखि १६ वर्षसम्म जेल सजाय हुन्छ ।
– १४ देखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा दोषीलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।
– १६ वर्ष माथि १८ वर्षमुनिका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन्छ ।
– १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती गरेको प्रमाणित भए ७ देखि १० वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।
बलात्कारका घटनामा हाडनातामा बाहेक उजुरीका लागि एक वर्षको हदम्याद कानुनमा छ । तर पछिल्लो समय सो हदम्याद हटाइनुपर्ने आवाज उठेको छ ।
रातोपाटीबाट