गैडाकोट
आसन्न स्थानीय तह चुनाव नजिकिएसँगै गैडाकोटका राजनीतिक दल र उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त देखिएका छन् । उम्मेदवार अहिले गाउँघरतिर चुनावी अभियानमा लागिपरिरहेका छन् । दलहरुका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलटोलमा भोट माग्नमा कै दौड धुप गरिरहेका छन् । पार्टीगत र स्वतन्त्र सबै उम्मेदवारहरु आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुगिरहेका छन्।
यसै क्रममा यति बेला गैडाकोट १६ का वडा अध्यक्षका स्वतन्त्र उम्मेद्वार नन्दराम सापकोटा गुलाफको फूल चिन्हमा मतदान गर्न अपिल गर्दै मतदाताहरुलाई भेट्दै घरघर कुदिरहेका छन् । घरदैलोको क्रममा सापकोटाले आफ्नो जित भएपश्चात् स्थानिय जनताको कार्यलाई मुख्य प्राथमिकतामा राखी पदिय दायित्व अनुसार हरेक जिम्मेवारी फत्ते गर्ने प्रतिवद्धता गरेका छन्।
उनले आफ्नो वडा अन्तर्गत रहेका बाटोघाटो , खानेपानी , शिक्षा , स्वास्थ्य , खेलकुद लगायतमा देखिएका समस्यालाई समाधान गर्दै वडालाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने , वडाभित्र रहेका खोलाले गर्ने कटानको निम्ति तटबन्धन निर्माण गर्ने र कृषि र कृषकको लागी नयाँ कार्यक्रमहरु ल्याई वडालाई दुधमा आत्मनिर्भर बनाउने जस्ता एजेन्डाहरुलाई प्रस्तुत गरिरहेका छन्।
वडाका युवाहरुलाई स्वरोजगार कार्यक्रम , उधमशिलतालाई प्राथमिकता , वन संरक्षण तथा वृक्षरोपण संगै बालबालिका , महिला , जेस्ठ तथा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिस्चित गर्ने जस्ता योजनाहरु सहित यस वडालाई उत्कृस्ट वडाको रुपमा बिकास गर्ने बताएका छन्।