बुलिङटार,
नेपाली काँग्रेस बुलिङटारको चुनावी घरदैलो कार्यक्रमको दोस्रो दिन आज बुलिङटार गाउँपालिका वडा नं ४ मा चुनावि सभा सम्पन्न भएको छ । सो सभालाई सम्बोधन गर्दै बुलिङटार गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार शशिकिरण बस्ताकोटिले प्राकृतिक स्रोत र साधनलाई समुचित रुपमा प्रयोग गरि सम्मुन्नत पालिका बनाउन मेरो उम्मेदवारी रहेको कुरा बताउनु भएको हो ।
बुलिङटार गाउँपालिकाले स्थानीय तहको निर्वाचन २०७९ लाई लक्षित गर्दै बैशाख १८ गते देखि बुलिङटार गाउँपालिकाको वडा नं. ५ बाट घरदैलो कार्यक्रम शुरु गरेको थियो । आज दोस्रो दिन ४ नम्बर वडाको चुलि बोझामा घरदैलो सहित चुनावि आम सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार शशिकिरण बस्ताकोटिले बुलिङटार रहेको अधुरा योजना पूरा गर्ने शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा आमूल परिवर्तन गर्न यसपालि रुख चिन्हमा मतदान गरि सम्पूर्ण उम्मेदवारहरुलाई बिजय गराउन अनुरोध गर्नुभयो ।
सो सभालाई वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार, पालिका गाउँ कार्य समितिका सभापति लगायतले सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रममा दिग्गज व्यक्तित्व डोल राज पाण्डे, पदमराज गिरी लगायतको उपस्थिती समेत रहेको थियो । केहि महिना पहिले सो गाउँका ७२ घरका सदस्यहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
एक बर्षमा उक्त गाउँमा ६४ लाख रुपैया भित्रीएर गाउँको विकासका लागि नेपाली काँग्रेसले नै सो वातावरण सिर्जना गरेको र विगतमा गरेका कामहरुको बारेमा गाउँका अगुवा हेमलाल बरालले जानकारी गराउनु भएको थियो । घोषण पत्र मार्फत आफूले ५ बर्ष सम्म गर्ने कार्यहरुको योजना सहित दोस्रो पटकका लागि गाउँपालिका अध्यक्ष पदमा बस्ताकोटीको उम्मेदवारी रहेको हो ।
बस्ताकोटीको घोषणा पत्रमा पालिकाको हरेक नीति निर्माण र गतिविधिलाई पारदर्शी र लोकतान्त्रिक बनाउने, आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक पक्षको सुक्ष्म अध्ययन गरी सोही बमोजिम योजना तयार गरिने, मोटरबाटो, कृषि, खानेपानी र स्वास्थ्य क्षेत्रमा जनताले अनुभुति गर्ने गरि पहिलो बर्षबाटै समस्या समाधान गर्ने, स्वास्थ्य सेवा निशुल्क बनाइने, शिक्षाका नाममा उठाईने विभिन्न शुल्क हटाई कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने, अति गरिब, बिपन्न र सुकुम्बासीहरुको लगत लिई उनीहरुलाई प्रत्यक्ष राहत कार्यक्रम संचालनमा गर्ने जस्ता कुराहरु घोषणा पत्रमा उल्लेख गरिएको छ ।
उक्त घोषणा पत्रमा आर्कषणको रुपमा घरेलु उद्योग, साना उद्योगलाई प्रोत्साहन गरी युवा स्वरोजगार सृजना गर्ने नीति अपनाइनेछ भन्ने कुराले अब बुलिङटार बेरोजगार मुक्त हुने अड्कल गरिएको छ । पालिका स्तरीय घरदैलो कार्यक्रम भोली कोटथरमा हुने जानकारी गाउँकार्य समितिका सभापति ओम कुमार श्रेष्ठले बताउनु भएको छ ।