देवचुली,
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुली वडा नं १३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसबाट आफ्नो उम्मेदवारी दिएका एकदेव पौडेलले दलदले धौवादी सडकलाई दुई लेन बनाउने आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचन लक्षित गरि ह्याप्पी एफ.एमको बटम लाईन कार्यक्रममा बोल्दै पौडेलले वडामा आँफू निर्वाचित भएर आएपछि प्रमुख गन्तव्यको रुपमा रहेको दलदले धौवादी बाटोलाई दुई लेन सडक निर्माणमा राष्ट्रिय स्तरमा लबिङ्ग गर्ने बताउनुभएको छ ।
उहाँले पहिलो प्राथमिकताका रुपमा बाटो निर्माण, बजार डुबान नियन्त्रण, बौलाहा खोलाको कटान, भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण, कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै काम गर्ने बताउनुभएको छ ।
यसैगरि उहाँले व्यवसायी माथि चर्काे भाडा भइरहेकाले यसलाई व्यवस्थापन गर्ने पौडेलले बताउनुभएको छ ।
उहाँले यस क्षेत्रमा रहेर आँफूले धेरै सामाजिक कार्य गरेकाले अब जनताको हकका लागि कार्य गर्ने पालो आएको बताउनुभएको छ ।
अहिले जनताले नेतृत्व परिवर्तन चाहेकाले आँफूले उम्मेदवारी दिएको र जनताका साना समस्यालाई समाधान गर्न तर्फ आँफू लाग्ने बताउनुभएको छ । उहाँले आफूले भष्ट्रचार नगर्ने र समाजमा भष्ट्रचार पनि हुन नदिने बताउनुभएको छ ।
पौडेलले आफू किसानको छोरा भएकाले चुनावमा धेरै खर्च समेत नगर्ने र आर्थिक प्रलोभन नपर्न समेत अनुरोध गर्नुभएको छ ।