देवचुली,
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुलीका राजनीतिक दलहरुसँग निर्वाचन आचार संहिताका विषयमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार देवचुली नगरपालिकाको सभाहलमा देवचुली नगरपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थीको अध्यक्षतामा बैठक बसि छलफल गरिएको हो ।
कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । बैठकमा आगामी ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गर्दा के कस्ता नियमहरुको पालना गर्नुपर्छ भन्ने विषयमा निर्वाचन अधिकृत कमलराज पन्थीले सम्पूर्णलाई जानकारी गराउनुभएको थियो । उहाँले आचारसंहिता भन्दा बाहिर रहेर कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिलाई ठेस पुग्ने कार्य नगर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचनलाई सम्पन्न गर्न आफ्नो दलबाट आंचारसंहिताको उलघंन नहुने प्रस्टाएका थिए । साथै निर्वाचन अधिकृतले कुनै पनि पार्टीलाई भेदभाव नगरि निश्पक्ष रुपमा कार्य गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ, नेपाली काँग्रेस देवचुलीका सभापति डिल्लीराम कडरिया, नेकपा माओवादी केन्द्र देवचुलीका अध्यक्ष सत्यनारायण भुसाल, नेकपा एकिकृत समाजवादी पार्टी देवचुलीका अध्यक्ष शसी सिग्देल, नेकपा एकिकृत समाजवादी पार्टी देवचुली १३ का अध्यक्ष अनिल भुसाल, मंगोल नेशनल अर्गनाईज देवचुलीका अध्यक्ष हेमलाल पुलामी, जनता समाजवादी पार्टी देवचुलीका कृष्णराज गैरे, नेकपा एमाले देवचुलीका प्रतिनिधि खिमानन्द भुसाल, स्वतन्त्रतर्फबाट श्यामशर्मा भुसाल, राष्ट्रिय अनुसन्धान जिल्लाका अमृत सुवेदी, ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख भीमसेन घिमिरे, युवा संघ जिल्ला ईन्चार्ज सुन्दर जंग कुँवर, अस्थायी प्रहरी पोष्ट दलदलेका डम्बर ब.केसी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण देवचुलीका निर्वाचन सह–अधिकृत बुद्ध बहादुर थापाले गर्नुभएको थियो ।