देवचुली,
देवचुली नगरपालिकामा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ देवचुली १३ को आयोजना र देवचुली युथ क्लबको सह–आयोजनामा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले खेलाडीलाई फुटबल हस्तान्तरण गरेर खेल सुरु भएको थियो ।
समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले यहाँका युवाहरुलाई खेल प्रति आकर्षित गराई देवचुली नगरपालिकाबाट सक्षम खेलाडी उत्पादन गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले खेलाडीलाई खेल मर्यादित ढंगले खेल्न समेत आग्रह गर्नुभएको छ । वडाको आर्थिक बर्ष २०७८÷०७९ को १ लाख बजेटबाट प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता संचालन गरिएको हो ।
कार्यक्रममा देवचुली नगर खेलकुद समितिका अध्यक्ष सुवास ओझा, मातृभूमि कुमारवर्ती वनका उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव ईन्द्रमणी भूसाल, देवचुली वडा नं ४ का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्री राम, अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख धनबहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।
देवचुली युथ क्लबका अध्यक्ष भरत अर्यालको अध्यक्षता रहेको कार्यक्रममा देवचुली वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिलबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य देवचुली युथ क्लबका सचिव ओमचन्द्र महतोले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण माधव पौडेलले गर्नुभएको थियो ।
सोमबार भएको देवचुली ४ झाँक्रे र देवचुली १३ दलदले विचको पहिलो खेलमा देवचुली १३ दलदले ४ - ३ गोल अन्तरले बिजयी भएका छन्। निर्धारित समयमा दुवै समुह बाट समान २ गोल भएपछी खेल ट्राइवेकरमा पुगे संगै खेल देवचुली १३ को पक्षमा भएको हो। प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहले क्रमश नगद ४० हजार र २५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।