बजारमा निकै हल्ला सुनें, चुनाव त बेस्सरी खर्चिलो हुन्छ अरे,
के साँच्चै मेयरले १ करोड, उप मेयरले ५० लाख अनि
वडाध्यक्षले चुनाव जित्न १०/१२ लाख बन्दोवस्त गर्नुपर्ने हो र ?
के का लागि चाहिन्छ उमेदवारले जीत हासिल गर्न लाखौं रुपैयाँ ?
जबकी स्थानिय तहका उमेदवारको दक्षता, क्षमता र योग्यताका बारेमा कुल मतदातामा दुई तिहाई मतदातामा राम्रो जानकारी हुन्छ र सोहि अनुसार मुल्याङ्कन पनि । अबको चुनावमा चुनाव धनी मान्छेले होइन, क्षमतावान मान्छेले जित्नुपर्छ र जिताउनु पर्दछ । विगतका चुनावमा झैं वंशाणुगत रोग लागे जस्तो हजुरबुवाको मन पर्ने चुनाव चिन्हमा नातीले मतदान गर्दैनन् जस्तो लाग्छ। मतदाताका घर–घरका सबै परिवारको डाटा सहित स्थानिय तहका उमेदवारको सबैसँग प्राय राम्रै चिनजान हुन्छ। आखिर कसलाई के लालचमा फसाउन खर्च ?
स्पष्ट घोषणा पत्र, जनताका समस्या समाधान गर्ने आधार, विगतका सामाजिक कार्य सम्पादन मुल्याङ्कनका आधारमा मतदान गर्ने एउटा युवा जमात तयार भैसकेको छ । एक छाक मासुभात, २/४ लिटर इन्धन, २/४ दिनको रमझम अनि हेर्दा चिटिक्कको उमेदवार भएकै कारण भोट दिने चलन पक्का अबको चुनावमा फेरिन्छ भन्ने लाग्छ, फेरिनु पनि पर्छ ।
यी सबै कुरा के कारणले खर्चिलो हुँदैछ भन्ने विषयको चर्चा मात्र हो, खर्च उमेदवारले सृजना गरेका पक्का छैनन् होला, खर्चको सृजना मतदाताबाट भएको छ । क्षणिक लाभले ५ वर्षसम्म पुर्पुरोमा हात राखि आँफूले आँफैलाई धिक्कार्नु पर्ने अवस्थाको सृजना, स्थानिय तहको मन्द विकास, नितिगत मिलेमतो, आँफू र आफ्ना मात्र खुसी राख्ने परिपञ्च, यी सबै ब्यवस्थाको भागिदार, अन्ततः मतदाता नै हुन् । कसले यो चुनावमा मलाई के खर्च गर्छ हैन कि कसले अबको ५ वर्षमा गर्ने कार्यको के योजना ल्याएको छ, त्यो योजना पूरा गर्ने तत्परता, ईच्छा शक्ति, सामथ्र्य छ वा छैन एकीन गरि आँफै विचार विमर्श गरि मतदान गर्नुपर्छ । मैले यहाँ स्थानिय निर्वाचन खर्चिलो बन्नु अनि बनाइनु नै गलत हो भन्ने लागेको गलत प्रवृतिको थोरै मनोभाव मात्र पोखेको हुँ । राष्ट्रिय निर्वाचनमा करोडौ खर्च गरेका विषयमा त के चिन्ता गर्नु, के हल्ला गर्नु र ? स्पष्ट प्रमाणित आधार सहित सञ्जालिकरण भएकै छ ।
यति हुँदाहुँदै चुनावमा खुलेर लाखौं खर्च गर्न नसक्ने सक्रिय सामाजिक/राजनितिक ब्यक्ति, योग्य, दक्षतावान, क्षमतावान ब्यक्ति यस समाजबाट अवसर नपाएर खुम्चिन पर्ने बाध्यात्मक अवस्था रहदाँसम्म कसरी कल्पना गर्ने समृद्ध समाजको ? के सधैं सबै ठाउँमा धनाड्य शासकहरुले मात्र यस समाजमा शासन गर्ने अनि हामी सबै शोषित हुनुपर्ने हो र ? यो बाध्यता कहिलेसम्म आखिर ?
खर्च गरेर चुनाव जित्नेले खर्च त उठाउँछन तर जनताको जीवनस्तर भने होइन ।
अन्त्यमा फेरी पनि “चुनाव धनी मान्छेले होइन, क्षमतावान मान्छेले जित्नुपर्छ ।”