इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पु¥याइएको थियो । अस्पतालले ९ बजेर ५० मिनेटमा अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको थियो ।
माइती पक्षले अमृताले विष सेवन गर्ने कुनै आधार नभएको भन्दै योजनावद्ध हत्या गर्न विष सेवन गराएकोहुन सक्ने बताएको छ । ‘छोेरीले मर्ने कुरा कहिल्यै गरिन, बरु छुट्टिएर एक्लै बस्छु भन्थी’, आमा सावित्राले भनिन्, ‘यो आत्महत्या हुँदै होइन ।’
प्रहरीको भूमिकाप्रति आशंका
मृतकका माइती पक्षले प्रहरीले सुरुदेखि नै अनुसन्धान फितलो बनाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् ।
‘अनुसन्धान र डीएसपीको भूमिकाप्रति हामीलाई चित्त बुझेको छैन, शंका लागेको छ’, मृतकका दाजु पुष्पकले भने, ‘घटनाको सीआईबी टोलीबाट उच्चस्तरीय छानबिन हुनुपर्छ ।’
निष्पक्ष अनुसन्धानका लागि दबाब दिन अमृताको माइती पक्षले आन्दोलन सुरु गरेको छ । माइतीमा रहेकी अमृतालाई पटकपटक फोन गरेर बोलाउनु, विष सेवन गरेको भने पनि सुरुमा माइती र छिमेकीलाई खबर नगरी सिधै अस्पताल पु¥याउनु र मृत्यु भएपछि मात्र माइतीलाई जानकारी दिनुले योजनावद्ध हत्या भएको माइती पक्षको दावी छ ।
नौ वर्षअघि प्रेम विवाह गरेकी अमृतालाई श्रीमानसंगै सासु र ससुरा समेतले सुरुदेखि नै हेला गर्ने र यातना दिने गरेको मृतकका दाजु पुष्पक बताउँछन् । विवाह भएको एक बर्षपछि प्रेम र अमृताको एक छोरा जन्मेको थियो ।
‘साना तिना कुरामा पनि गालीगलौज गर्ने र लाञ्छना लगाउने काम भइरहेको थियो’ पुष्पकले भने, ‘गत भदौमा पनि वडा कार्यालयमा निवेदन दिएर मिलेर बस्ने सहमति भएको थियो ।’
मृत्यु हुनु अघिल्लो दिन पनि श्रीमान् प्रेमले अमृतालाई हातपात गरेको र भारत जान दबाव दिँदा अमृताले अस्वीकार गरेको माइती पक्षको भनाइ छ ।
बहिनीमाथि हातपात भएको थाहा पाएपछि पुष्पक श्रीमती मधुलाई लिएर बहिनीको घरमा गएका थिए । तर अमृताकी सासु दीपा टण्डनले घरको मामिलामा किन हस्तक्षेप गर्न आएको भनेर दाजु भाउजुलाई घरमा छिर्न नदिएको उनीहरुले बताएका छन् ।
प्रेम टण्डन र उनको परिवारले केही महिना अघिदेखि पुष्पकसहित अमृताका माइती सबैको फोन ब्लक गर्नुले पनि हत्यामा परिवारको संलग्नतालाई बल पु¥याएको माइती पक्षको तर्क छ ।
अमृताले केही महिनादेखि तिलोत्तमा नयाँ मिलस्थित फर्निचर उद्योगमा लेखापालको काम गर्दै आएकी थिइन् ।
अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ र अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । पोष्टमार्टमका लागि शवलाई काठमाडौं लैजान माइती पक्षको माग छ ।
उनको मृत्यु किटनाशक विषादी डीडी फैक्सको प्रयोगबाट भएको चिकित्सकलाई उधृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । भारतमा मात्र पाइने र नेपालमा खुल्ला रुपमा बिक्री गर्न नपाइने यो बिषादी अमृतासम्म कसरी आइपुग्यो भन्नेमा माइती पक्षले प्रश्न उठाएको छ ।
राति घर फर्किएकी अमृता आफैंले विष लिएर सेवन गर्ने अवस्था नभएकोले घरपरिवारले नै सुनियोजित रुपमा विष सेवन गराएको हुन सक्ने माइती पक्षको दावी छ ।
अमृताको माइतीको किटानी जाहेरीपछि प्रहरीले अमृताका श्रीमान प्रेमलाई बुधबार राति र सासु ससुरालाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।
अनलाईनखबरबाट