सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूह (१८ वर्षभन्दा माथि) लाई खोप लगाइसक्ने भनेको थियो । लक्ष्यअनुसार एक करोड ९९ लाख २२ हजारभन्दा बढीलाई चैत मसान्तभित्र खोप लगाउनु पर्ने छ ।
तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । लक्ष्यमा पुग्न सरकारले अब एक हप्तामा ३४ लाख डोज खोप लगाउनु पर्ने छ ।
एकातिर सरकारले लक्ष्य अनुसार खोप लगाउन सकेको छैन भने अर्कोतिर समयमा नै लगाउन नसकेका कारण खोपको म्याद सकिन लागेको छ । समयमा नै प्रयोग नगरेका कारण २० लाख डोज खेर जाने अवस्थामा पुगेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाको तथ्यांक अनुसार एस्ट्राजेनिका १६ लाख ५७ हजार ३६२ र जोन्सन एन्ड जोन्सन २ लाख ८६ हजार २५३ डोज खोप भण्डारणमा छ । यो खोपको म्याद वैशाख दोस्रो सातासम्म छ । व्यवस्थापन शाखाका कर्मचारीका अनुसार म्याद गुज्रिन लागेको खोप अधिकांश प्रयोगमा आउने देखिँदैन ।आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियासमेत खोप लगाउने दर घटिरहेकाले अब यो खोप खपत हुनेमा विश्वस्त छैनन् । भन्छन्, ‘संक्रमणदर न्यून छ । खोप लगाउनेको कमी छ । त्यसकारण पनि खोप खपत हुने देखिँदैन ।’
हाल अधिकांश मानिसले बुस्टर डोजका रुपमा मोर्डना, कोभिसिल्ड तथा फाइजर खोप लगाइरहेका छन् ।
दुरगामी योजना अनुसार काम गर्न नसक्दा खोप खेर गइरहेको विभागकै कर्मचारी बताउँछन् । ‘केन्द्रबाट लाखौं संख्यामा तल्लो तहमा खोप गएको छ । तर, खोप कतिले लगाए ? कति खेर जाने अवस्थामा छन् । न त माथिल्लो तहमा विवरण पेश भएको छ । न केन्द्रले अनुगमन गर्न सकेको छ,’ ती कर्मचारी भन्छन् ।
एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन खोप अनुदानमा आएको खोप हो । अनुदानमा आए पनि खोप व्यवस्थापनका लागि राज्यको ढुकुटीबाट करोडौं खर्च भइरहेको छ । अनुदानमा दिएको खोप व्यक्तिको पहुँजमा पुर्याउनका लागि ढुवानी, खोप चिस्यानलगायतमा राज्यको लगानी छ ।
ती कर्मचारी भन्छन्, ‘अनुदानमा पाइयो भनेर जथाभावी रुपमा खोप लियौं । एक–दुई महिनामै म्याद सकिने खालका खोपलाई व्यवस्थापन गर्न नसक्दा कराडौं खर्च खेर गएको छ ।’
चौरासिया भने अहिले भण्डारणमा भएका खोप पहिलाको मागका आधारमा आएको बताउँछन् । ‘अहिले करोडौं संख्यामा भण्डारणमा खोप छन्,’ चौरासियाले भने, ‘खपत नभई अब अनुदान तथा खरिदमा खोप ल्याउन पहल गरेका छैनौं ।’
सहयोगमै लिँदा पनि सरकारले कुन खोप लिने, कति मात्रा लिने, त्यो लिएपछि कसरी व्यवस्थापन गर्ने योजना बनाउनु पर्ने थियो । त्यो योजना बनाएर राम्ररी काम गर्न नसकेका कारण खोप खेर जान लागेको छ ।
खोपको सदुपयोग गर्नमा विभागका नेतृत्वले कुनै गम्भीरता नदेखाएको जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी बताउँछन् ।
‘अनुदानमा आएको खोप भनेर लापबाही गर्नुभएन नि ! त्यो खोप अन्य राष्ट्रको लगानी भएको छ,’ डा. मरासिनी भन्छन्, ‘यसरी खोपको खेर जाने अवस्थामा पुर्याउँदा भोलिका दिनमा नेपालको ठूलो बदनाम हुन्छ ।’
भण्डारण केन्द्रमा थुप्रियो सवा करोड डोज
पछिल्ला दिनमा खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोना खोप सरकारी भण्डारण कक्षमै थुप्रिएकोे छ ।
व्यवस्थापन शाखाको तथ्यांक अनुसार हाल भण्डारणमा १ करोड २३ लाख ३१ हजार १८९ खोपको मौज्दात छ । जसमध्ये कोभिसिल्ड २६ लाख ६० हजार एक सय ७० मात्रा, भेरोसेल ४५ लाख ७१ हजार २०४ मात्रा मौज्दात छ । जोनसन एण्ड जोनसन २ लाख ८६ हजार २५३ मात्रा, एष्ट्रेजेनेका १६ लाख ५७ हजार ३८२ मात्रा, फाइजर १५ लाख ३ हजार ६९० मात्रा र मोर्डना खोप १६ लाख ५२ हजार ५१० मात्रा खोप मौज्दात छ ।
अबको एक साताभित्रमा ३४ लाखभन्दा बढीलाई पूर्ण मात्रा खोप दिइसक्नुपर्छ । यही दैनिक रुपमा खोपको गतिले लक्ष्य हासिल गर्न सम्भव नभएको सरकारी अधिकारी स्वीकार गर्छन् । लक्ष्य भेट्टाउनको लागि दैनिक पाँच लाख जनसंख्याले खोप लगाउनुपर्छ ।
अझै कुल जनसंख्यामा हेर्ने हो भने खोपको कभरेज निकै कम देखिन्छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ७५.६ प्रतिशतले पहिलो मात्रा र ६६ प्रतिशतले दोस्रो मात्रा पाएको देखिन्छ । देशभर ५ देखि ११ वर्ष उमेर समूहका करिब ३५ लाख बालबालिका खोपबाट वञ्चित छन् । सरकारले बालबालिका लागि चैत मसान्तभित्र फाइजर खोप आउने भनेता पनि अनिश्चित बन्दै गएको छ ।
विभागका अनुसार खोप नपाएका ५ वर्षभन्दा ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर नेपालले ८४ लाख फाइजर खोप खरिद गर्ने योजना बनाएर मन्त्रीपरिषद्मा पेश भएको छ । तर यो योजना पास हुन सकेको छैन । ‘फाइजर खोप ल्याउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । तर, पास हुन सकेको छैन । मन्त्रिपरिषद्बाट पास भएपछि सम्झौता गरेर खोप खरिदको प्रक्रिया अगाडि बढ्छ,’ चौरासिया भन्छन् ।
खोप लगाउने तथ्यांकलाई केलाएर हेर्दा कुनै प्रदेशमा अझै पनि खोपको कभरेज एकदमै न्यून छ । घरदैलो अभियान, घुम्ती सेवाका साथै आवातजावत हुने नाकामा गएर खोप अभियान चलाउन डा. मरासिनीको सुझाव छ ।
‘स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका तथा खोपबारे अनभिज्ञ दूरदराजका गाउँका मानिसलाई खोपबाट वञ्चित छन् । उनीहरुसम्म पुग्नु हामीलाई चुनौतीपूर्ण छ,’ डा. मरासिनी भन्छन्, ‘घरदैलो अभियान गरेर खोजी–खोजी खोप दिनुपर्छ ।’
तर, मेडिकल क्षेत्रमा शतप्रतिशत सम्भव हुनै नसक्ने खोप शाखा प्रमुख सागर दाहाल बताउँछन् ।
‘यो खोप लगाउने विषयमा शतप्रतिशत त सम्भव हुँदैन । तर, हामीले उल्लेख्य प्रगति हासिल गरेका छौं । कतिपय मानिस विदेशमा जानु भएको छ । त्यसको संख्या समावेश भएका छैनन्,’ उनले भने, ‘यतिको जनसंख्यालाई खोप लगाउनु भने निकै चुनौतीको काम थियो । यो संख्या सन्तोषजनक नै हो ।’
अनलाईनखबरबाट