देवचुली,
सुकुम्बासी समस्या समाधान गर्नको लागी देवचुली ४ र ५ मा दवावमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस क्षेत्रका सुकुम्बासी तथा भूमिहिनहरुले लालपुर्जा हातमा नपाए सम्म आन्दोलन जारि राख्ने बताएका छन्।
आजको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी , संविधान सभा सदस्य कृष्ण पौडेल , जनता समाजवादी पार्टि गण्डकी प्रदेशका सदस्य कृष्ण गौतम, माओवादी केन्द्रका केन्द्रिय सदस्य किसन शर्मा गैरे , नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछाने , नवलपुर क्षेत्र नम्वर १ को क्षेत्रीय सभापति अमृत भट्टचन , नेकपा एमालेका प्रदेश सभा सदस्य रोशनबहादुर गाहा मगर लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा सुकुम्बासीहरुले आफ्नो मागहरु पूर्ण रुपमा सम्बोधन नभए सम्म अब हुने सबै तहका निर्वाचन बहिष्कार गर्ने बताएका छन्। यो संगै यस क्षेत्रमा कुनै पनि राजनीतिक दलहरुलाई प्रचारप्रसार गर्न नदिने समेत संघर्ष समितिका अध्यक्ष गणेश गुरुङले बताएका छन्। गुरुङले आज उपस्थित नेताहरुले आफुहरुको माग सुनेर आस्वाशन मात्र दिएको बताएका छन्।
यता उपस्थित नेताहरुले भने सुकुम्बासीहरुको माग छिट्टै समाधान गर्ने कुरामा सबैलाई बिश्वस्त हुन आग्रह गरेका थिए। नेपाली कांग्रेसका नेता तथा नवलपुरका सभापति जिसीले सुकुम्बासीहरुको समस्यालाई नजिक बाट नियालेको बताएका थिए भने प्रदेश सभा सदस्य गाहाले आफ्नो पार्टी सरकारमा हुँदा सुुकुम्बासी समस्या समाधानको कार्यलाई निरन्तरता दिए पनि सरकार हटे पछि काम गर्न नपाएको बताए ।
संविधान सभा सदस्य पौडेलले जनताको दुख जहाँको त्यहिँ भएकोले उनिहरुले आफ्नो अधिकारको लागि गरेको संघर्ष प्रति आफु सहमत रहेको बताएका थिए भने जसपा गण्डकी प्रदेशका सदस्य गौतमले सुकुम्बासीहरुको संर्घषको कार्यक्रमलाई साथ दिन आफु र आफ्नो पार्टी तयार रहेको बताएका थिए ।