चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चालु आर्थिक वर्षको नौँ महिनामा ११ जनाले ज्यान गुमाएका छन् ।
निकुञ्जको तथ्यांक अनुसार विभिन्न घटनाहरुमा ११ जनाको मृत्युसँगै १९ जना सामान्य घाइते र २० जना गम्भीर घाइते भएका हुन् ।
निकुञ्जका अनुसार वन्यजन्तुले मानिस, पशुधन, भण्डारण गरेको अन्नबाली, घर गोठ र अन्नबाली गरी ५७९ क्षेत्रमा वन्यजन्तुले क्षति पु¥याएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कसराको तथ्यंकअनुसार चालु आर्थिक वर्ष २०७८\०७९ मा ११२ पशुधन, सात भण्डारण गरेर राखेको अन्न, २६ घरगोठ, ३७४ अन्नबालीको गरी ५७९ क्षेत्रमा क्षति पुगेकोे छ ।
चितवन राष्ट्रिय निकुञ्ज कसराका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मध्यवर्ती क्षेत्र बाहिर घट्ने घटनाको लागि नेपाल सरकारले राहतको व्यवस्था गरेको छ । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन–२०२९ ले मध्यवर्ती क्षेत्र भित्र भएको घटनाको भने राहत दिने व्यवस्था नगरेको तिवारीले नारायणी अनलाइनलाई बताए ।
त्यस्तै, वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकालाई सरकारले १० लाख, घाइते भएकालाई अस्पतालको सिफारिस अनुसार उपचार खर्च दिने गरेको तिवारीले बताए । उनका अनुसार अन्नबाली तथा पशुको सामान्य क्षतिकोलागि १० हजार रुपैयाँ र उन्नत जातको पशु क्षतिको लागिभने ३० हजार रुपैयाँ राहात रकमको व्यवस्था सरकारले गरेको छ ।
निकुञ्जले नारायणी अनलाइनलाई उपलब्ध गराएको तथ्यांकअनुसार सरकारको सहयोगमा राष्ट्रिय निकुञ्जले यस आर्थिक वर्षमा मात्रै सामान्य घाइतेका लागि तीन लाख ६३ हजार ७९४ रुपैयाँ शक्त घाइतेका लागि २४ लाख ८१ हजार ५५६ रुपैयाँ र मानव मृत्यृका लागि एक करोड, १० लाख रुपैयाँ वितरण गरेको छ । त्यस्तै पशुधन क्षतिका लागि १३ लाख ७० हजार ३२० रुपैयाँ भण्डारण गरेको अन्य क्षतिका लागि ६० हजार ८८० घरगोठ क्षतिका लागि एक लाख ९२ हजार ३०० र अन्यबालीको क्षतिका लागि २३ लाख ५५ हजार रुपैयाँ गरी सरकारले एक करोड ७८ लाख २३ हजार ८५० रुपैयाँ रकम राहत वितरण गरेको छ ।
नारायणी अनलाइनबाट