देवचुली,
नेपाली काँग्रेस देवचुलीको घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियानको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस देवचुली नगर समितिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस नवलपुर जिल्ला सभापति एवम् संविधान सभा सदस्य महेन्द्रध्वज जिसीले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता जिसीले आउने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउने उद्धेश्यका साथ अभियान सुरु गरिएको बताउनुभएको थियो ।
उहाँले जनताका सुख दुःखमा साथ दिने पार्टी भनेकै नेपाली काँग्रेस रहेको चित्रण गर्दै आगामी निर्वाचनमा काँग्रेसले बहुमतका साथ जीत हासिल गर्नेमा कुनै सन्देह नरेहको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य अशोक बस्ताकोटी, नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति अमृत भट्टचन, नेपाली काँग्रेस गण्डकी प्रदेश प्रमुख सचेतक ओमकला गौतम लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले “मिलिनियम च्यालेनज कर्पोरेसन (एमसीसी)” का बारेमा तथा काँग्रेस नेता एकनाराण अधिकारीले “स्थानीय निर्वाचन र नेपाली काँग्रेस” विषयमा प्रशिक्षण दिनुभएको थियो । यसैगरि काँग्रेस नेता आर.सी भट्टराईले “नेपाली काँग्रेसको उपलब्धी र राजनितिक दलका चरित्र” विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस देवचुली नगर सभापति डिल्लीराम कडरियाको अध्यक्षता रहेका थियो भने नेपाली काँग्रेस नवलपुर जिल्ला सभापति एवम् संविधान सभा सदस्य महेन्द्रध्वज जिसी प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको समापन गर्दै नगर सभापति कडरियाले आगामी निर्वाचनमा काँग्रेस एक ढिक्का भएर लाग्ने बताउँदै नगरमा नेपाली काँग्रेसको नेतृत्व स्थापित गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस देवचुली नगरका उप–सभापति भोजेन्द्र रायमाझीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस देवचुली नगरका सचिव सुन्दर पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सदस्य प्रकाश रसाईली, ईन्द्र महतो लगायत नगर, क्षेत्र, जिल्ला र प्रदेश तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।