जिल्लामा २८९ नयाँ क्षयरोगी थपिएका छन् । जिल्लाका सात पालिकामा पुस मसान्तसम्ममा सो सङ्ख्यामा बिरामी थपिएका हुन् । हरेक चार–चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा क्षयरोगका बिरामी रहेका छन् । भरतपुर महानगरमा १५३ जनामा क्षयरोग देखिएको हो । यस्तै खैरहनीमा ३३, माडीमा २९, रत्ननगरमा ३२, राप्तीमा १८ र कालिका नगरपालिकामा १९ तथा इच्छाकामना गाउँपालिकामा पाँच जनामा क्षयरोग देखिएका छन् । गत आर्थिक वर्षमा जिल्लामा ८९४ जनामा क्षयरोग देखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले उपचारमा ५३५ जना छन् । गत आर्थिक वर्ष र चालु आवमा क्षयरोग पुष्टि भएका उनीहरु अहिले उपचार गराइरहेका हुन् । नेपालमा हाल ६८ हजार नयाँ क्षयरोगका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ । तीमध्ये पाँच हजार २०० जना १४ वर्षमुनिका बालबालिका छन् भने ६३ हजार नयाँ बिरामी १४ वर्षमाथिका रहेको जनस्वास्थ्य अधिकृत ढकालले बताउनुभयो । नेपालमा भेटिएकामध्ये दुई हजार २०० बहुऔषधि प्रतिरोधि बिरामी रहेका छन् । सङ्क्रमितमध्ये ३३ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन् । नेपालमा हरेक वर्ष १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
जनस्वास्थ्य अधिकृत ढकालका अनुसार नेपालमा प्रत्येक दिन १८९ नयाँ बिरामी भेटिने गरेका छन् । तीमध्ये १०१ बिरामी उपचारका लागि नआउने गरेका छन् । प्रत्येक दिन क्षयरोगका कारण ४७ बिरामीको मृत्यु हुने गरेको छ । उच्च मृत्युदर भएका १० वटा रोगमध्ये क्षयरोग पनि एक हो ।
यो रोग माइक्रोव्याक्टेरियम टियुबरक्लोसिस नामक किटाणुका कारण सर्ने गर्छन । यो रोग हावाबाट सर्ने रोग भएकाले फोक्सोमा असर पर्ने गर्दछ । यस रोगका लक्षणमा साँझपख हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगत देखिनु रहेका छन् । यस्तो समस्या देखिएमा खकार जाँच गर्नुपर्ने उहाँले बताउनुभयो । परीक्षण गर्दा क्षयरोग देखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने उहाँको भनाइ छ ।
आज विश्वभर क्षयरोगको अन्त्यका लागि लगानी बढाऔँ स् जीवन बचाऔँ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ ।