गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी नदीलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजनाबारे गण्डकी र लुम्बिनीका नेताहरू विभाजित भइरहँदा मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीलाई नै विश्वसम्पदा सूचीमा राख्ने दाबी गरेका हुन् ।मुख्यमन्त्री पोखरेल स्याङ्जाको चापाकोट नगरपालिका-८, खोरियाघाटमा एक धार्मिक समारोहमा बोल्दै थिए ।
पोखरेलले कालीगण्डकी नदीलाई विश्वसम्पदा सूचीमा राख्न युनेस्कोसँग समन्वय थालिसकिएको जानकारी गराए । रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले बताए।पोखरेलले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’ विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरूले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए ।
गण्डकी प्रदेश सभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको उनको भनाइ थियो कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले वृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ ।
त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक र सामाजिक साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए ।गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उनले यसमा धार्मिक पर्यटन महत्वपूर्ण पाटो रहेको भनाइ राखे ।
दक्षिणको गजेन्द्रमोक्ष धामदेखि उत्तर दामोदरकुण्ड सम्मका तीर्थस्थललाई धार्मिक करिडोरमार्फत जोडेर लैजानुपर्ने उनको भनाइ थियो ।स्याङ्जाको चापाकोटमा पहिलोपटक पुगेका मुख्यमन्त्री पोखरेलले चापाकोट मात्र नभएर कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना ल्याउने प्रतिबद्धता जनाए । स्थानीयको माग सम्बोधन गर्दै उनले चापाकोट र पाल्पाको रामपुर जोड्ने पक्की पुल तथा ज्याग्दीखोलामा समेत पुलको योजना आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता पनि जनाए ।
रातोपाटीबाट