नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ७७ वटै जिल्लामा नयाँ नेतृत्व पाएको छ । केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको काँग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो ।आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै काँग्रेसले जिल्ला अधिवेशनको मैझारो गरेको छ । दोस्रो पटक काँग्रेसको सभापति चुनिएका शेरबहादुर देउवाले जिल्लामा पनि आफ्नो पकड बढाएका छन् । ७७ मध्ये ४३ जिल्लामा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ ।
महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको पक्षले २८ जिल्लामा नेतृत्व हासिल गरेको छ ।यस्तै नेता कृष्णप्रसाद सिटौला समूहले २ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व लिएको छ । पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह निकट एक र शशांक कोइराला निकट २ जना जिल्ला सभापति छन् । प्रदेशगत रुपमा प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति देउवा पक्षको वर्चश्व छ । लुम्बिनीमा नेता शेखर कोइराला पक्षको उपस्थिति बलियो छ ।शेखर कोइराला पक्षको आधार क्षेत्र मानिएको प्रदेश १ र गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा देउवा पक्षले जबरजस्त उपस्थिति जनाएको छ ।१३ औं महाधिवेशनमा देउवा पक्षले मधेस प्रदेशमा ‘क्लिन स्वीप’ पारे पनि यसपटक दुई जिल्ला सभापति गुमाएको छ ।
धनुषामा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै सभापति बनेका छन् ।यस्तै शेखर पक्षले पनि मधेस प्रदेशमा इन्ट्री मारेको छ । शेखर पक्षका रामदेव साहले सप्तरीमा देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै जिल्ला सभापति चुनिए । यद्यपि निधिको विद्रोहका बीच देउवा पक्षले ६ वटा जिल्ला सभापति जितेर मधेस प्रदेशमा वर्चश्व कायम राखेको छ ।काँग्रेसमा जिल्ला नेतृत्व चयन हुँदा अन्तरगुट प्रतिस्पर्धा मात्र भएको छैन, गुटभित्रै पनि कडा प्रतिस्पर्धा भएको छ । देउवा र शेखर पक्षबीच स्वाभाविक प्रतिस्पर्धा थियो भने केही जिल्लामा देउवा पक्षमै आन्तरिक प्रतिस्पर्धा र शेखर पक्षमै पनि आन्तरिक प्रतिस्पर्धा भएको थियो ।
आफ्नै समूहमा भएको लडाइँले केही जिल्लामा अर्को पक्षलाई फाइदा भएको थियो ।१३ औं महाधिवेशनको भन्दा यसपटक देउवा पक्षले करिब २० जिल्लामा आफू पक्षीय नेतृत्व स्थापित गरेको छ । विगतको संस्थापन इतर पक्ष तितरवितर हुँदा पनि शेखर पक्ष विकल्पका रुपमा उदाएको छ । महाधिवेशनपछि अधिवेशन भएको सबै जिल्लामा शेखर पक्षले प्रतिस्पर्धा गरेको थियो । चितवन, बाँके, सिन्धुली र सप्तरीमा देउवा पक्षलाई पराजित गरेर नेतृत्व लिन शेखर पक्ष सफल भएको छ । महाधिवेशनअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको आडमा निर्वाचित दुई दर्जन जिल्ला सभापति शेखर कोइराला पक्षमा उभिएका छन् ।
देउवा पक्ष – प्रदेश १
१. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
२. रूपनारायण जबेगु – पाँचथर
३. तेजेन्द्र खनाल– ओखलढुङ्गा
४. डम्बर खड्का – इलाम
५. हिमाल कार्की – उदयपुर
६. दिनेश राई – धनकुटा
७. नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु
शेखर पक्ष – प्रदेश १
१.अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
२. विष्णु राई – खोटाङ
३. विनोद बान्तवा – भोजपुर
४. डिगबहादुर लिम्बू – मोरङ
५. केदार भण्डारी – सुनसरी
शशांक कोइराला पक्ष –प्रदेश १
१. दीपक खड्का– संखुवासभा
सिटौला पक्ष – प्रदेश १
१. देउकुमार थेबे – झापा
देउवा पक्ष – मधेस प्रदेश
१. जनार्दनसिंह क्षेत्री – पर्सा
२. सुरेन्द्रप्रसाद सिंह – सर्लाही
३. सुनिलकुमार यादव – रौतहट
४. राजेश राय यादव – बारा
५. रामचन्द्र यादव – सिरहा
६. नागेश्वर यादव– महोत्तरी
विमलेन्द्र निधि पक्ष– मधेस प्रदेश
१. योगेन्द्र पजियार – धनुषा
शेखर पक्ष – मधेस प्रदेश
१. रामदेव साह– सप्तरी
देउवा पक्ष– बागमती प्रदेश
१. कान्छाराम तामाङ – रामेछाप
२. तीर्थ लामा – काभ्रेपलान्चोक
३. दुर्लभ थापा – भक्तपुर
४. जितेन्द्र श्रेष्ठ – ललितपुर
५. पेम्बाछिरिङ तामाङ – रसुवा
६. बुद्ध लामा – मकवानपुर
७. जंगबहादुर तामाङ – सिन्धुपाल्चोक
शेखर पक्ष – बागमती प्रदेश
१. रमेश महत – नुवाकोट
२. बर्मा लामा – दोलखा
३. रामनाथ अधिकारी – धादिङ
४. राजेश्वर खनाल – चितवन
५. उपेन्द्र पोखरेल – सिन्धुली
प्रकाशमान सिंह – बागमती प्रदेश
१. कृष्ण बानियाँ (सबुज) – काठमाडौं
देउवा पक्ष – गण्डकी प्रदेश
१. किशोरदत्त बराल – कास्की
२. शङ्कर गुरुङ – मनाङ
३. खमवी गर्बुजा – म्याग्दी
४. डा. टकराज गुरुङ – लमजुङ
५. युवराज जोशी – पर्वत
६ .जीतप्रकाश आले – तनहुँ
शेखर पक्ष – गण्डकी प्रदेश
१. नन्दप्रसाद न्यौपाने – गोरखा
२. राजु थापा – स्याङ्जा
३. रोमी गौचन थकाली – मुस्ताङ
शशांक पक्ष– गण्डकी प्रदेश
१. महेन्द्रध्वज जिसी – नवलपुर
सिटौला पक्ष – गण्डकी प्रदेश
१. जित शेरचन – बाग्लुङ
देउवा पक्ष – लुम्बिनी प्रदेश
१. रामकृष्ण खाँण – रुपन्देही
२. केशरमान रोका – रुकुमपूर्व
३. रुण प्रकाश सिंह राठौर – बर्दिया
शेखर पक्ष – लुम्बिनी प्रदेश
१. हिमालदत्त श्रेष्ठ –पाल्पा
२. किशोर आचार्य – रोल्पा
३. विष्णुकुमार गिरी – प्युठान
४. केशव श्रेष्ठ – अर्घाखाँची
५. शङ्कर डाँगी – दाङ
६. अब्दुल कलाम – कपिलबस्तु
७. खिलध्वजपन्थी – गुल्मी
८. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम
९. नारायण गौडेल – बाँके
देउवा पक्ष – कर्णाली प्रदेश
१. मोहनविक्रम सिंह – हुम्ला
२. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
३. वेदराज सिंह – जाजरकोट
४. ऐनबहादुर शाही – मुगु
४. केशबहादुर विष्ट – सल्यान
६. खड्क पोखरेल – सुर्खेत
७. दीपेन्द्रबहादुर शाही – डोल्पा
८. कर्णबहादुर शाही – जुम्ला
शेखर पक्ष – कर्णाली प्रदेश
१.अम्मबहादुर शाही – कालिकोट
२. मणिराम रेग्मी – दैलेख
देउवा पक्ष – सुदूरपश्चिम प्रदेश
१. भीमबहादुर साउद – डडेलधुरा
२. खड्क बोहरा – बझाङ
३. नरेन्द्रबहादुर सिंह – डोटी
४. पदम बोगटी – कञ्चनपुर
५ पुष्पबहादुर शाह – अछाम
६. नारायणदत्त भट्ट – कैलाली
शेखर पक्ष– सुदूरपश्चिम प्रदेश
१. रामसिंह रावल – बाजुरा
२.चतुरबहादुर चन्द – बैतडी
३. ललितसिंह बोहरा – दार्चुला
रातोपाटीबाट