देवचुली,
तेस्रो देवचुली महोत्सवको आज अन्तिम दिन देवचुलीका युवायुवती धुलो उडाउँदै नाचेका थिए । आज शनिबार बिदाको दिन संगै अन्तिम दिन पनि भएकोले भिडभाड बाक्लो रहेको आयोजकले जनाएको छ। आजको बिशेष आकर्षणको रुपमा चर्चित र्यापर भिटेन आए संगै माहोल झन् तातिएको महोत्सवका सांस्कृतिक सम्योजक सत्यनारायण भुसालले बताएका छन्।
१३ दिन सम्म चलेको महोत्सवको समापन समारोहमा आज उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवं जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनको प्रमुख आतित्थ्यता संगै संघका अध्यक्ष रेशमलाल सापकोटाको अध्यक्षता रहेको थियो।
आज विभिन्न वडाका वडा अध्यक्षहरु , विभिन्न राजनीतिक दलका पदाधिकारीहरु , औधोगिक सुरक्षा बेस क्याम्प दलदले , अस्थाई प्रहरी पोस्ट दलदले , संघ संस्थाका प्रतिनिधिहरु , लगायतका व्यक्तिहरुको आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै आजका प्रमुख अतिथि भट्टचनले स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शन गर्नका लागि मेला महोत्सवको आवश्यकता पर्ने भएकोले यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिन आयोजकलाई आग्रह गर्दै सबैलाईलाई महोत्सवको सफलताको शुभकामना ब्यक्त गरेका थिए।
महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका थिए ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको थियो ।
हाल देवचुली १० प्रगतिनगर पावर हाउस पछाडि भइरहेको महोत्सव देवचुली उद्योग वाणिज्य संघको आयोजनामा संचालन भएको हो भने सह आयोजकको रुपमा नव प्रगति युवा क्लब र प्रगतिनगर बजार व्यवस्थापन समिति रहेको थियो।