देवचुली,
देवचुली र कावासोतीको सिमानामा पर्ने लोकाहा खोला क्षेत्रमा प्रदेश औधोगिक क्षेत्र स्थापना गर्ने बिषयमा आज बृहत छलफल गरिएको छ । पर्यटन , उधोग , बाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेशको निर्णय अनुसार आज उक्त छलफल सम्पन्न भएको हो।
छलफलमा देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठको अध्यक्षता संगै अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो। आज मेयर श्रेष्ठ संगै नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारि सुमन घिमिरे , कावासोती नगरपालिकाका मेयर चन्द्रा कुमारी पुन , घरेलु तथा साना उधोग नवलपुरका प्रमुख सागर खनाल , डिभिजन बन कार्यालय नवलपुरका प्रमुख मोहानराज काफ्ले लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो। यस्तै कार्यक्रममा नेपाली कांग्रेस देवचुलीका नगर सभापति डिल्लीराम कडरिया , नेकपा एमालेका नगर अध्यक्ष कृष्ण बहादुर केसी , माओवादी केन्द्र देवचुलीका अध्यक्ष प्रेमा खनाल , जनता समाजवादी पार्टी देवचुलीका अध्यक्ष कृष्णराज गैरे लगायतका अन्य दलका प्रतिनिधि , विभिन्न वडाका अध्यक्षहरु , जनप्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित व्यक्तिहरुको छलफलबाट महाराजा सामुदायिक वन क्षेत्रमा औधोगिक क्षेत्र स्थापना हुने भएकाले सम्बन्धित नगरपालिका र त्यस संग सम्बन्धित सरोकारवालाहरुको प्रतिवद्धता रहेको भनि निर्णय गरिएको छ।
यो संगै उक्त औधोगिक क्षेत्रले पार्ने वातावरणीय र सामाजिक प्रभावको मुल्यांकन गरि प्रचलित कानुन बमोजिम प्रक्रिया अगाडी बढाउने र हुन सक्ने प्रदुषण न्यूनीकरणको लागी सम्बन्धित मन्त्रालयमा अनुरोध गर्ने भनिएको छ। यस्तै यस क्षेत्रमा स्थापना हुन लागेको औधोगिक क्षेत्र प्रदेशकै गौरबको आयोजना भएकोले यसको विस्तृत डिपीआर तयारि प्रक्रियाको लागि ३ तहकै सरकार संग अनुरोध गर्ने भनिएको छ।
यस क्षेत्रका सरोकारवाला व्यक्तिहरुले लोकाहा खोला क्षेत्रमा स्थापना हुने प्रदेश औधोगिक क्षेत्रले यस ठाउँको सामाजिक , आर्थिक रुपमा प्रभाव पार्ने भएकोले महत्वपुर्ण रुपमा लिएको बताएका थिए।
यो संगै स्थानिय ब्यक्तिहरुले रोजगार पाउने र स्थानीय श्रोत र साधनको उपभोग पनि हुने कुरामा यहाँका बासिन्दाहरु उत्साहित रहेको समेत बताएका थिए।