देवचुली ,
४० औँ मगर एकता दिवसको अवसरमा देवचुली ६ मा प्रथम सांस्कृतिक कार्यक्रम २०७८ सम्पन्न भएको छ। नवदुर्गा युवा क्लबको आयोजना संगै स्थानिय लालीगुराँस आमा समुहको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
क्लबका अध्यक्ष नर बहादुर कानुङ् मगरको अध्यक्षता संगै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अन्तरास्ट्रीय मगर महासंघका सदस्य गिर बहादुर थापा , वडा न ६ , ७ र ८ का वडाध्यक्षहरु , वडा सदस्यहरु , स्थानिय क्लबका अध्यक्षहरु संगै समाजसेवी तथा बुद्धिजीवीहरुको आतित्थ्यता रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरुलाई मगर समुदायको बिशेष परिकार बारा , सेलरोटी संगै अन्य मिस्ठान्न परिकारको स्वाद चखाइएको थियो। यस्तै कार्यक्रममा वडा न ६ को कुमसोत गाउँका समुहले परम्परागत नाचन नृत्य संगै मगर समुदायको कौरा नाच र मगर लाफा बाजा समूहको बाजा प्रस्तुति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि संगै अन्य अतिथिहरुले बाजा ताल र कौरामा कम्मर मर्काएका थिए। यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाहाले मगर समुदायले मान्दै आएको यो दिवसलाई अझ भब्य तरिकाले मान्न सबै मगर समुदायलाई आग्रह गर्दै मगर भाषामा शुभकामना मन्तब्य राखेका थिए।
यता अन्य वक्ताहरुले मगर समुदायले आफ्नो भाषा , कला र संस्कृतिलाई संरक्षण गर्दै आउने पुस्ताहरुलाई यसको महत्व बुझाउनुपर्ने बताएका थिए भने क्लबका अध्यक्ष कानुङ्ले यो कार्यक्रमलाई आगामी बर्षहरुमा पनि गर्दै जाने प्रतिवद्धता ब्यक्त गरेका थिए। कार्यक्रममा क्लबका पुर्व अध्यक्ष ओम प्रसाद राई , समाजसेवी छल बहादुर गाहाले मगर समुदायलाई आफ्नो दिवसमा दिल खोलेर रमाउन आग्रह गरेका थिए।